झापामा एक महिनामै १० करोडभन्दा बढीको क्षति, आगलागीबाट ठूलो नोक्सानी
झापा । झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनाबाट जिल्लामा ठूलो आर्थिक नोक्सानी भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा भएका विपद्का घटनामध्ये आगलागीबाट सबैभन्दा बढी क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा भएका १२ वटा आगलागीका घटनामा एक जना घाइते भएका छन् भने १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।
यसैगरी, असोज महिनामा जङ्गली जनावरको आक्रमणका नौ वटा घटना भएका छन् । ती घटनाबाट तीन लाख ८९ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जङ्गली जनावरको आक्रमण तथा जोखिममा परेका चार जनाको उद्धार गरिएको छ ।
त्यस्तै, चट्याङको एउटा घटनाबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीले आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न विद्युतीय उपकरण तथा आगोको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
साथै, वन तथा मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई जङ्गली जनावरबाट सुरक्षित रहन सतर्कता अपनाउन अनुरोध गरेको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment