संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

डिसी नेपाल
११ कार्तिक २०८३ ८:०५
4
Shares

म्याग्दी।  म्याग्दीको मङ्गला गाउँपालिका-३ बरंजाका गमबहादुर श्रीसले भूमिगत राजनीति र संविधानसभा सदस्यको भूमिका छाडेर अहिले व्यावसायिक कृषि उद्यममा सक्रिय जीवन बिताइरहेका छन्। दुई दशकभन्दा बढी राजनीतिमा सक्रिय रहेका श्रीसले आफ्नै श्रम र लगानीबाट बाख्रापालन, सुन्तला खेती र मौरीपालन गरी स्वरोजगारको गतिलो उदाहरण प्रस्तुत गरेका छन्।

छ वर्षअघि दुईवटा बाख्रा र एक लाख रुपैयाँ लगानीबाट व्यवसाय सुरु गरेका उनको फार्ममा अहिले ३० वटा बाख्रा रहेका छन् भने उनी वार्षिक १५ देखि २० वटासम्म खसीबोका बिक्री गर्छन्।

सुरुमा स्थानीय हावापानी अनुकूल नभएर केही क्षति बेहोरे पनि उनले हिम्मत हारेनन्। अहिले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधुनिक खोर निर्माण गरी व्यवसायलाई व्यवस्थित बनाएका छन्।

बाख्रापालनसँगै उनले परम्परागत खेती हटाएर ३५० वटा सुन्तलाका बोट लगाएका छन्, जसले अहिले उत्पादन दिन थालेको छ। खाली जमिनमा घाँसखेती गरिएको छ भने १६ वटा मौरीका घार र सिँचाइ पोखरीमा माछापालन पनि सुरु गरिएको छ।

उनको प्रेरणाबाट बरंजाका १५ घरपरिवार पनि व्यावसायिक बाख्रापालनमा आकर्षित भएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय र गाउँपालिकाबाट उनले तालीम तथा अनुदान सहयोगसमेत प्राप्त गरेका छन्।

विद्यार्थी जीवनदेखि नै नेकपा (माओवादी) मा आबद्ध भई २०५८ सालदेखि भूमिगत राजनीतिमा होमिएका श्रीस २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् र २०६४ देखि २०७० सालसम्म पहिलो संविधानसभा सदस्य बनेका थिए।

कार्यकाल सकिएपछि गाउँ फर्किएका उनी हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यसमेत रहँदै राजनीति र कृषि कर्मलाई एकसाथ अगाडि बढाइरहेका छन्। पहाडी क्षेत्रका स्रोत र हावापानीको सदुपयोग गरे गाउँमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उनको दृढ विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *