दक्षिण अस्ट्रेलियाको संसद् भवनमा वैदिक विधिपूर्वक दशैं मनाइयो, नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता प्रकट

डिसी नेपाल
१२ कार्तिक २०८३ ७:०४
4
Shares

एडिलेड, अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको संसद् भवनमा नेपालीहरूको महान् पर्व विजया दशमी वैदिक मन्त्रोच्चारण, टीका–जमरा र नेपाली मौलिक सांस्कृतिक प्रस्तुतिसहित भव्यताका साथ मनाइएको छ।

बहुसांस्कृतिक मामिलामन्त्री नादिया क्लान्सीको आयोजनामा अक्टोबर २८ मा एडिलेडस्थित संसद् भवनको ऐतिहासिक ओल्ड चेम्बरमा सम्पन्न विशेष समारोहले नेपाली संस्कृति, परम्परा र पहिचानलाई राज्यस्तरमा सम्मान गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।

समारोहमा पण्डित सम्भव सुवेदीले वैदिक स्वस्तिवाचन तथा मन्त्रोच्चारण गरेका थिए। उनले नेपाली परम्पराअनुसार मन्त्री क्लान्सीलाई अक्षताको टीका र जमरा लगाइदिएका थिए। नेपाली धार्मिक विधि र सांस्कृतिक परम्परासहित सम्पन्न उक्त कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधि, सांसद, सामाजिक अगुवा तथा नेपाली बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो।

दशैंले परिवार र समुदायलाई जोड्छ : मन्त्री क्लान्सी

समारोहलाई सम्बोधन गर्दै मन्त्री क्लान्सीले दसैँको सांस्कृतिक तथा सामाजिक महत्वमाथि प्रकाश पारिन्। परिवारसँगको पुनर्मिलन, अग्रजप्रतिको सम्मान र समुदायबीचको आत्मीयतालाई जोड्ने पर्वका रूपमा दसैँको विशेष स्थान रहेको उल्लेख गर्दै उनले दक्षिण अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायले पुर्‍याउँदै आएको योगदानको खुलेर प्रशंसा गरिन्।

नेपाली समुदायले आफ्नो भाषा, संस्कृति र परम्परालाई अस्ट्रेलियामा समेत निरन्तरता दिइरहेको उल्लेख गर्दै उनले यस्ता सांस्कृतिक कार्यक्रमले विभिन्न समुदायबीच आपसी सम्मान, सद्भाव र समझदारी बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

सम्बोधनका क्रममा मन्त्री क्लान्सीले हालै नेपालमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाइन्। विपद्का बेला नेपाली समुदायको साथमा रहेको सन्देश दिँदै उनले नेपाली समुदायप्रति दक्षिण अस्ट्रेलियाको समर्थन र सहानुभूति व्यक्त गरिन्। साथै, विपद्का विषयमा नेपाली समुदायसँग ऐक्यबद्धता जनाउन दक्षिण अस्ट्रेलियाको संसद्‌मा प्रस्ताव पारित गरिएको प्रसङ्गसमेत उनले स्मरण गरिन्।

नयाँ पुस्तामा नेपाली संस्कृतिको हस्तान्तरण

समारोहमा दोस्रो पुस्ताका नेपाली युवा अभय क्षेत्रीले सम्बोधन गर्दै अस्ट्रेलियाको संसद् भवनभित्रै नेपालीहरूको प्रमुख पर्व दसैँ मनाउने अवसर पाउनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताए। नेपाली संस्कृति र परम्परालाई सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरेकोमा उनले मन्त्री क्लान्सीप्रति हार्दिक आभार व्यक्त गरे।

त्यसैगरी, हिन्दु इकोनोमिक फोरम अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया च्याप्टरकी अध्यक्ष शबा डिसीले प्रवासमा दसैँ मनाउँदाको अनुभव र यस पर्वको भावनात्मक महत्वबारे आफ्ना विचार राखिन्। जन्मभूमिबाट टाढा रहँदा दसैँका अवसरमा हजुरबुबा–हजुरआमा तथा परिवारका अग्रजहरूको अभाव विशेष रूपमा महसुस हुने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले विदेशमा रहेका नेपालीलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोडिराख्न मद्दत पुर्‍याउने बताइन्।

बहुसांस्कृतिक अस्ट्रेलियाको संसद् भवनमै दसैँ मनाइनुले नेपाली समुदायको सांस्कृतिक पहिचानलाई उच्च सम्मान मिलेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले नेपाली र अन्य अस्ट्रेलियाली समुदायबीच सम्बन्ध विस्तार तथा सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने धारणा राखिन्। कार्यक्रम आयोजना गरेकोमा उनले मन्त्री क्लान्सीलाई धन्यवादसमेत दिइन्।

नेपाली बालबालिकाको सांस्कृतिक प्रस्तुतिले थप्यो रौनक

समारोहको मुख्य आकर्षणका रूपमा एडिलेड नेपाली विद्यालय र नेपाली पाठशालाका बालबालिकाले नेपाली मौलिक संस्कृति झल्किने बेजोड नृत्य प्रस्तुत गरेका थिए। नेपाली कला, संस्कृति र परम्परामा आधारित प्रस्तुतिले कार्यक्रममा थप उत्साह थप्नुका साथै सहभागीहरूलाई नेपाली सांस्कृतिक विविधताको सुन्दर झलक दिएको थियो।

अस्ट्रेलियामा जन्मिएका तथा हुर्कँदै गरेका दोस्रो पुस्ताका बालबालिकाको सहभागिताले विदेशमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा विद्यालयहरूले गरिरहेको प्रयासलाई पनि उजागर गरेको थियो। यस्ता गतिविधिले नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक जरा चिन्न, परम्पराप्रति अपनत्व बढाउन र नेपाली पहिचानलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता

कार्यक्रममा दक्षिण अस्ट्रेलियाको संसद् सदस्य तथा ब्याड्को निर्वाचन क्षेत्रकी प्रतिनिधि जेन स्टिन्सन, अस्ट्रेलियाको गृह मामिला विभागका क्षेत्रीय निर्देशक, दक्षिण अस्ट्रेलियाको बहुसांस्कृतिक आयोगका अध्यक्ष, दक्षिण अस्ट्रेलियाको बहुसांस्कृतिक बोर्डकी सदस्य मञ्जु खड्का तथा काउन्सिलर रेणुका लामालगायत विभिन्न सांसद र विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए), एडिलेड नेपाली समाज, एडिलेड नेपाली विद्यालय, नेपाली पाठशाला, नेपाली भजनकीर्तन समूह, भुटानी समुदाय, फेन्का (FENCA) लगायत विभिन्न नेपाली तथा नेपालीभाषी सामुदायिक संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवाहरू समारोहमा सहभागी भएका थिए।

प्रवासमा नेपाली पहिचानको सशक्त प्रस्तुति

दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो। पारिवारिक पुनर्मिलन, अग्रजप्रतिको सम्मान, आपसी सद्भाव र असत्यमाथि सत्यको विजयको सन्देश बोकेको यस पर्वले नेपाली समाजमा विशेष महत्व राख्छ।

दक्षिण अस्ट्रेलियाको संसद् भवनमा आयोजित यस विशेष समारोहले नेपाली समुदायको सांस्कृतिक पहिचानलाई राज्यस्तरमा प्रस्तुत गर्नुका साथै नेपालको मौलिक परम्पराप्रति अन्य समुदायको चासो र समझदारी बढाउने अवसर प्रदान गरेको छ। धार्मिक विधि, सांस्कृतिक प्रस्तुति र समुदायका प्रतिनिधिहरूको व्यापक सहभागितासहित सम्पन्न कार्यक्रमले प्रवासमा नेपाली संस्कृति संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयासलाई थप उजागर गरेको छ।

यसले नेपाली समुदाय र दक्षिण अस्ट्रेलियाको राज्य सरकारबीचको सांस्कृतिक सम्बन्ध, पारस्परिक सम्मान तथा सामुदायिक ऐक्यबद्धतालाई अझ मजबुत बनाउने सन्देशसमेत दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *