जगन चापागाईं ‘ग्रान्ड बार्गेन’ को ग्लोबल एम्बेसडरमा नियुक्त

डिसी नेपाल
१२ कार्तिक २०८३ ८:२०
4
Shares

काठमाडौँ। अन्तर्राष्ट्रिय मानवीय सहायता प्रणालीलाई प्रभावकारी, जवाफदेही र स्थानीय नेतृत्वमा आधारित बनाउने उद्देश्यले सञ्चालित विश्वव्यापी पहल ‘ग्रान्ड बार्गेन’ को ग्लोबल एम्बेसडरमा मानवीय नेतृत्वकर्ता जगन चापागाईं नियुक्त भएका छन्।

स्वीट्जरल्यान्डको जेनेभामा हालै सम्पन्न ‘ग्रान्ड बार्गेन–२०२६’ को वार्षिक सम्मेलनले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आईएफआरसी) का महासचिव चापागाईंलाई सर्वसम्मत रूपमा ग्लोबल एम्बेसडर चयन गरेको हो। यसअघि सन् २०२३ देखि २०२६ सम्म यो जिम्मेवारी मलेसियाकी डा. जेमिला महमुद, स्वीट्जरल्यान्डका म्यानुएल बेस्लर र युरोपेली सङ्घका माइकल कोहलरले सामूहिक रूपमा सम्हालेका थिए।

आईएफआरसीको महासचिवका रूपमा दोस्रो कार्यकालमा कार्यरत चापागाईं ‘ग्रान्ड बार्गेन’ को ग्लोबल एम्बेसडर बन्ने पहिलो नेपाली हुन्। उनले सन् २०२० मा पहिलोपटक आईएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए। अब उनले आगामी दुई वर्ष विश्वव्यापी मानवीय सहायता प्रणाली सुधारका लागि नेतृत्व र पैरवी गर्नेछन्।

नयाँ जिम्मेवारीसँगै चापागाईंले मानवीय सहायता प्रणालीमा सुधार, स्थानीय संस्थाको नेतृत्व र स्रोतको न्यायोचित वितरणका विषयलाई अन्तर्राष्ट्रिय तहमा उठाउने अवसर पाएका छन्। विशेषगरी सङ्कटबाट प्रभावित समुदायसम्म सहायता प्रभावकारी रूपमा पुर्‍याउने र स्थानीय तथा राष्ट्रिय मानवीय संस्थाको आवाजलाई विश्वव्यापी निर्णय प्रक्रियामा समेट्ने उनको भूमिका रहनेछ।

ग्लोबल एम्बेसडरमा चयन भएपछि चापागाईंले सरकार, दातृ निकाय, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, रेडक्रस तथा रेडक्रिसेन्ट र स्थानीय तथा राष्ट्रिय मानवीय संस्थाबीच सहकार्य र साझा प्रतिबद्धता बलियो बनाउन काम गर्ने बताएका छन्।

उनले यो जिम्मेवारी आईएफआरसीको महासचिवको भूमिकाभन्दा अलग रहेर ‘ग्रान्ड बार्गेन’ समुदायका तर्फबाट निष्पक्ष रूपमा निर्वाह गर्ने स्पष्ट पारेका छन्।

के हो ‘ग्रान्ड बार्गेन’?

‘ग्रान्ड बार्गेन’ सन् २०१६ मा आयोजित विश्व मानवीय शिखर सम्मेलनपछि सुरु गरिएको विश्वव्यापी मानवीय सहायता सुधार पहल हो। यसको मुख्य उद्देश्य दाता र मानवीय सहायता प्रदान गर्ने संस्थाबीचको सहकार्य सुधार गर्दै प्रशासनिक खर्च घटाउने र बढीभन्दा बढी स्रोत प्रत्यक्ष रूपमा सङ्कटबाट प्रभावित समुदायसम्म पुर्‍याउने हो।

यस पहलले मानवीय सहायता प्रणालीलाई प्रभावकारी, पारदर्शी, समतामूलक र जवाफदेही बनाउनुका साथै स्थानीय नेतृत्वलाई प्राथमिकता दिन्छ। दाता, संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय संस्था तथा स्थानीय र राष्ट्रिय मानवीय संस्थाबीच काम गर्ने तरिकामा सुधार ल्याएर प्रभावित समुदायसम्म स्रोत र निर्णय गर्ने अधिकार पुर्‍याउने यसको लक्ष्य छ।

स्थापनाको एक दशकपछि ‘ग्रान्ड बार्गेन’ नयाँ चरणमा प्रवेश गर्दैछ। सन् २०२७ जनवरीदेखि यो ‘कलेक्टिभ एक्सन प्लेटफर्म फर द ग्रान्ड बार्गेन’ (सीएपी–जीबी) का रूपमा सञ्चालन हुनेछ। नयाँ संरचनाले गुणस्तरीय वित्तीय सहायता, स्थानीयकरण र समान साझेदारीलाई प्राथमिकता दिनेछ। प्रभावित समुदायप्रतिको जवाफदेहिता र लैङ्गिक समानतालाई पनि सबै कार्यक्षेत्रमा समेटिने विषयका रूपमा राखिएको छ।

प्रतिबद्धता कार्यान्वयनमा जोड दिने चापागाईंको योजना

ग्लोबल एम्बेसडरका रूपमा चापागाईंले मानवीय सहायता सुधारका विषयलाई उच्च राजनीतिक तहसम्म पुर्‍याउने, आवश्यक पैरवी गर्ने र स्थानीय तथा राष्ट्रिय संस्थाको आवाज विश्वव्यापी निर्णय प्रक्रियामा स्थापित गर्ने जिम्मेवारी पाएका छन्।

देश तथा समुदायको तहमा प्राप्त अनुभव र प्रमाणलाई वरिष्ठ नीति निर्मातासम्म पुर्‍याउनु पनि उनको भूमिकाको महत्त्वपूर्ण हिस्सा हुनेछ।

चापागाईंले आफ्नो कार्यशैलीका तीन प्रमुख पक्ष अघि सारेका छन्—पहिले सम्बन्धित पक्षको कुरा सुन्ने, उठेका समस्या समाधान गर्न सक्ने निर्णयकर्तासम्म ती विषय पुर्‍याउने र गरिएका प्रतिबद्धता कार्यान्वयन भए–नभएको निरन्तर अनुगमन गर्ने।

उनले नयाँ रणनीति र थप प्रतिबद्धता घोषणा गर्नुभन्दा पहिले नै गरिएका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गराउनु प्राथमिकता हुने बताएका छन्। साथै, स्थानीय समुदाय र अग्रपङ्क्तिमा काम गरिरहेका संस्थाका अनुभव तथा आवाजलाई विश्वव्यापी मञ्च र नीति निर्माण प्रक्रियासम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

चापागाईंका अनुसार मानवीय सहायता क्षेत्रमा भएको प्रगति बैठकमा गरिएका प्रतिबद्धताको सङ्ख्याबाट होइन, त्यसले प्रभावित मानिसको दैनिक जीवनमा ल्याएको वास्तविक परिवर्तनबाट मापन हुनुपर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *