इनम सापकोटा अनुसन्धान प्रकरण: आधिकारिकता पुष्टि गरेर मात्र समाचार प्रकाशन गर्न प्रहरीको आग्रह

डिसी नेपाल
१२ कार्तिक २०८३ १४:३९
24
Shares

काठमाडौं। बिचौलियाको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाबारे अनुसन्धान जारी रहेकाले सो मुद्दासँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना सार्वजनिक नगर्न जिल्ला प्रहरी परिसर काठमाडौँले आग्रह गरेको छ।

बिहीबार परिसरले एक प्रेस विज्ञप्ति जारी गर्दै इनम सापकोटाको अनुसन्धानसँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचार र सामग्रीहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “इनम सापकोटाको मुद्दासँग जोडी विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचार तथा सामग्रीहरूमा अनुसन्धान अधिकृतलाई सूचनाको स्रोत सङ्केत गरी अनुसन्धानसँग सम्बन्धित विषयहरू सार्वजनिक गरिएको समाचार तथा सामग्रीहरूको सन्दर्भमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।”

उक्त मुद्दाको अनुसन्धान प्रचलित कानुन र निर्धारित प्रक्रियाअनुसार पूर्ण रूपमा गोप्य रूपमा भइरहेको जनाउँदै प्रहरीले अनुसन्धानसँग सम्बन्धित कुनै पनि संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ।

यसअघि, इनम सापकोटासँग नाम जोडेर बिचौलियाको काम र आर्थिक लेनदेनको आरोप लगाइएपछि प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विश्वराज पोखरेलले समेत प्रेस विज्ञप्ति जारी गरी उक्त समाचारको खण्डन गरिसकेका छन्।

पोखरेलले सापकोटासँग आफ्नो कुनै पनि चिनजान वा सम्पर्क नरहेको र समाचारमा लगाइएका आरोपहरू पूर्ण रूपमा कपोलकल्पित, भ्रामक र निराधार रहेको स्पष्ट पारेका थिए।

प्रहरीले अनुसन्धानको निष्पक्षता, पेसागत व्यावसायिकता र गोपनीयता कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिसरले अनुसन्धानको संवेदनशीलतालाई गम्भीरताका साथ ध्यानमा राखेर मात्र समाचार तथा सामग्री प्रकाशन गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ। साथै मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण गर्दा तथ्यको आधिकारिकता पुष्टि गर्नसमेत अनुरोध गरिएको छ।

“अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थालाई पालना नगरेको खण्डमा कानुन बमोजिम हुने हुँदा मुद्दासँग सम्बन्धित सूचना एवं सामग्रीहरू सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकाले आधिकारिकता पुष्टि गर्न समेत अनुरोध गरिएको छ,” परिसरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *