चक्रवात ‘अर्नब’को प्रभाव: देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपातको चेतावनी

डिसी नेपाल
१३ कार्तिक २०८३ ६:२५
16
Shares

काठमाडौं।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशको मौसममा उल्लेखनीय फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ भने कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो अधिकांश स्थानमा बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि वर्षा र हिमपातको आकलन गरिएको छ।

यसै क्रममा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना समेत रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका अधिकांश भूभागमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको क्रम जारी रहनेछ। केही स्थानमा भारी वर्षा र हिमपातको समेत अनुमान गरिएको छ।

महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिएको छ। विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपातको जोखिम रहेको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना औंल्याइएको छ।

मौसममा आएको यो अचानक फेरबदलका कारण पाकेको धानबाली भित्र्याउनेलगायतका कृषि कार्यहरू आज र भोलि पूर्ण रूपमा स्थगन गर्न महाशाखाले विशेष अनुरोध गरेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकहरूलाई मौसममा सुधार नआउँदासम्म उच्च हिमाली क्षेत्रतर्फ नजान र त्यहाँ पुगिसकेकाहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

वर्षासँगै चिसो हवाहरी चल्दा तापक्रम घट्न सक्ने, जोखिमयुक्त बस्ती र सडक किनारमा पहिरो खस्ने तथा यसले सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित पार्न सक्ने भएकाले सम्पूर्ण सर्वसाधारण र सम्बन्धित निकायलाई उच्च सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *