भुटानमा शिन्ताफू हिमताल विस्फोट: भारतका सीमावर्ती राज्यहरूमा उच्च सतर्कता

डिसी नेपाल
१३ कार्तिक २०८३ ११:१३
4
Shares

काठमाडौं।  भुटानको गासा जिल्लास्थित लेमथाङ क्षेत्रमा रहेको शिन्ताफू हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड-ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ।

बिहीबार राति हिमताल फुटेर बाहिरिएको पानी मफु नदी हुँदै संकोश नदीतर्फ तीव्र गतिमा बग्न थालेपछि भारतीय प्रशासनले आपत्कालीन तयारी अघि बढाएको छ।

संकोश नदी र यसका सहायक नदी किनारमा बसोबास गर्ने बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै दार्जिलिङ पहाडी क्षेत्र, तराई तथा डुवर्सका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ।

दार्जिलिङका भारतीय जनता पार्टी (भाजपा) सांसद राजु विष्टले सामाजिक सञ्जाल एक्समार्फत घटनाबारे जानकारी दिँदै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

उनले भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट भई पानी मफु नदी हुँदै संकोश नदीतर्फ बगिरहेकाले जलाधार क्षेत्रका नागरिकलाई जीवन रक्षाका लागि तत्काल सुरक्षित दूरीमा जान र दार्जिलिङका पहाडी क्षेत्र, तराई तथा डुवर्सका बासिन्दालाई सतर्क रहन अनुरोध गरेका  छन्।

हिमताललाई रोकिरहेको प्राकृतिक बाँध भत्किँदा वा फुट्दा ठूलो परिमाणमा पानी एक्कासी बाहिर निस्केर तल्लो तटीय क्षेत्रमा बाढी आउने घटनालाई ‘ग्लोफ’ अर्थात् ‘जोकुलह्लाउप’ भनिन्छ। यस्तो बाढीले तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने जोखिम रहन्छ।

आपत्कालीन तयारीबारे जानकारी दिँदै राज्यमन्त्री निशिथ प्रमाणिकले भुटानमा हिमताल विस्फोट भई पानी संकोश नदीतर्फ बगिरहेको र आगामी पाँचदेखि छ घण्टाभित्र उक्त पानी समथर भूभागमा पुग्ने अनुमान गरिएको बताउनुभएको छ। यसले गर्दा त्यस क्षेत्रमा ठूलो बाढी आउन सक्ने आशंका बढेको छ।

यसैबीच, अलिपुरद्वारका प्रहरी अधीक्षक अमित कुमार सावले स्थानीय बासिन्दालाई नआत्तिन आग्रह गरेका छन्। परिस्थिति उत्पन्न भएपछि प्रशासनले भुटानका अधिकारीहरू तथा विभिन्न विपद् प्रतिकार्य निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी उनले दिए।

उनका अनुसार करिब चारदेखि पाँच हजार मानिसलाई विद्यालय भवनहरूलाई राहत तथा आश्रयस्थलका रूपमा प्रयोग गरी सुरक्षित स्थानमा सारिएको छ भने थप छ हजारभन्दा बढी मानिसलाई पनि सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको छ।

प्रहरी अधीक्षक सावले संकोश नदी प्रणालीमा रेड अलर्ट जारी गरिएको जानकारी दिँदै नदीमा आउने पानीसँगै मरेका माछा, काठका ठूला टुक्रा तथा कङ्क्रिटका अवशेषहरूसमेत बगेर आउन सक्ने चेतावनी दिएका छन्।

भुटानको गासा जिल्लामा बिहीबार राति शिन्ताफू हिमताल फुटेर बाढी आएको भए पनि हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। यद्यपि, बाढीका कारण चर्चित तातोपानी कुण्ड ‘गासा त्शाचु’ बगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बाढीको तीव्र बहावले पुनाखा-गासा राजमार्गको एक भागसमेत बगाएपछि उक्त क्षेत्रमा यातायात पूर्ण रूपमा बन्द भएको छ। यता, भारतीय सीमावर्ती राज्यहरू पश्चिम बंगाल र असम दुवैका तटीय तथा नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम तीव्र पारिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *