भोटेकोशी र कालीगण्डकी बाढी प्रभावित क्षेत्रमा प्रहरी पुनःस्थापित, बेपत्ताको खोजी तीव्र
काठमाडौं। भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा आएको बाढीबाट प्रभावित स्थानहरूमा नेपाल प्रहरीले सुरक्षा उपस्थिति सुदृढ बनाउनुका साथै बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ।
भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रभावित क्षेत्रको सुरक्षा व्यवस्था र उद्धार/खोजी कार्यको प्रगतिबारे जानकारी गराएका हुन्।
प्रहरी महानिरीक्षक कार्कीका अनुसार बेत्रावती, स्याफ्रुबेँसी, टिमुरे र कठिन भौगोलिक अवस्थाका कारण छाडिएको हाकु क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना गरी उपस्थिति जनाइएको छ। स्याफ्रुबेँसीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमान्डमा टोली खटाइएको छ।
नागरिकको सुरक्षा, शान्ति सुव्यवस्था र बेपत्ता व्यक्तिहरूको खोजी प्रहरीको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै उनले स्थानीयवासीको सूचना र जनगुनासोका आधारमा खोजी कार्य अघि बढाउन प्रहरीको स्थायी उपस्थिति आवश्यक रहेको बताए। हाल उपलब्ध जनशक्ति र परम्परागत (म्यानुअल) विधिबाटै खोजी कार्य जारी राखिएको छ।
जमिनमुनि पुरिएका शव पहिचान गर्न आधुनिक प्रविधिको आवश्यकता औँल्याउँदै महानिरीक्षक कार्कीले डेढ मिटरसम्म गहिरो शव पत्ता लगाउन सक्ने उपकरणबारे जानकारी भए पनि हाल नेपाल प्रहरीसँग सो प्रविधि उपलब्ध नरहेको स्पष्ट पारे। आगामी दिनमा प्रभावित क्षेत्रमा प्रहरी चौकीका लागि उपयुक्त स्थान पहिचान गरी सुरक्षा व्यवस्था सुदृढ बनाउने र नागरिकलाई सहज सेवा प्रवाह गर्ने योजना प्रहरीको रहेको छ।
विपद्पछिको विषम परिस्थितिमा नागरिकको शान्ति सुरक्षा कायम राख्न र राहत/खोजी कार्यलाई प्रभावकारी बनाउन स्थानीय तहमा प्रहरीको स्थायी उपस्थिति अत्यावश्यक देखिन्छ। परम्परागत विधिबाट मात्र गहिरो भूभागमा पुरिएका शव तथा बेपत्ताहरूको खोजीमा कठिनाइ भइरहेको सन्दर्भमा, नेपाल प्रहरीलाई जमिनमुनि पहिचान गर्न सक्ने आधुनिक प्रविधि र उपकरणले सुसज्जित गराउनु राज्यको प्राथमिक दायित्व बन्नुपर्छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment