दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

डिसी नेपाल
१३ कार्तिक २०८३ २०:३५
248
Shares

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) मा करिब १२ करोड १३ लाख रुपैयाँ गैरकानुनी लाभ लिई संस्थानलाई आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। ब्युरोका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूले पूर्वयोजना र मिलेमतोमा विभिन्न समूह बनाएर संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हानि पुर्‍याई गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक तथा हाल संस्थानको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्रका प्रमुख विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा र चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय रहेका छन्।

त्यस्तै, संस्थानका कर्मचारी जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी पनि पक्राउ परेका छन्। उनीहरूलाई काठमाडौं, कास्की, सर्लाही र चितवनका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिम अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएका उनीहरूमाथि थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *