स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुँदैन : कांग्रेस सहमहामन्त्री शिवाकोटी

डिसी नेपाल
१३ कार्तिक २०८३ २१:०४
4
Shares

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले स्वतन्त्र प्रेसलाई तर्साएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललगायत पत्रकारलाई पक्राउ गर्ने र नयाँ पत्रिका, दियोपोस्टलगायत सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गरी धरपकड गर्ने सरकारको कदमप्रति आपत्ति जनाएका छन्।

उनले लोकतन्त्रमा सरकार तथा राज्यका निकायमाथि प्रश्न र आलोचना गर्नु स्वतन्त्र प्रेसको संवैधानिक अधिकार तथा लोकतान्त्रिक दायित्व भएको उल्लेख गरेका छन्।

‘सरकारले डरपोक शैलीमा प्रश्नबाट डराएर प्रश्न गर्नेहरूको मुख थुन्ने, कलम रोक्नेभन्दा सञ्चारमाध्यमले उठाएका प्रश्नको जवाफ दिने साहस राख्नुपर्छ,’ उनले लेखेका छन्।

कानुनी शासनको नाममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने छुट सरकार तथा सरकारी निकायका अधिकारीहरूलाई नभएको उनको भनाइ छ। पत्रकार वा सञ्चारमाध्यमबाट कानुनविपरीत काम भएको ठानिए स्थापित कानुनी प्रक्रिया र स्वतन्त्र न्यायिक प्रणालीबाट त्यसको निरूपण हुनुपर्ने उनले बताएका छन्।

राज्यशक्तिको दुरुपयोग र त्रास सिर्जना गरेर सञ्चारमाध्यममाथि दबाब बढाउने कार्य सभ्य समाजमा स्वीकार्य नहुने उल्लेख गर्दै उनले पक्राउ परेका पत्रकारहरूको तत्काल रिहाइ गर्न, सञ्चारमाध्यममाथिको धरपकड बन्द गर्न र प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूति सुनिश्चित गर्न माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *