तीन लाख घुस प्रकरणमा वडा अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डिसी नेपाल
१३ कार्तिक २०८३ २२:०१
44
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका–४ का वडा अध्यक्ष सन्तोष खड्कासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भूमि प्रशासन कार्यालय, लगनखेलका कर्मचारी र लेखापढी व्यवसायीको मिलेमतोमा जग्गाको अंशबन्डासम्बन्धी लिखत पारित गर्न सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

आयोगका अनुसार भूमि प्रशासन कार्यालयका नायब सुब्बा विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानका क्रममा भूमि प्रशासन अधिकृत अर्जुन देव योङ्या र नवीनकुमार गोलेसहित अन्य कर्मचारी तथा वडा अध्यक्षको संलग्नता देखिएको आयोगको दाबी छ।

आयोगका अनुसार पुनः नापीबाट अद्यावधिक भएको जग्गाको विवरण लुकाएर पुरानै विवरणका आधारमा लिखत पारित गरिएको र सरकारी अभिलेखमा हेरफेर गरी जग्गाधनी स्रेस्ता तयार गरिएको थियो। यसरी गलत लिखत तयार गर्न र घुस रकम बाँडेर लिन मिलेमतो भएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

आयोगले नौ कर्मचारी तथा वडा अध्यक्षविरुद्ध तीन लाख रुपैयाँ बिगो कायम गरी घुस लिएको, गलत लिखत तयार गरेको र सरकारी अभिलेख सच्याएको कसुरमा सजाय माग गरेको छ। लेखापढी व्यवसायी दुई जनालाई पनि घुस प्रकरणमा मतियारका रूपमा मुख्य कसुरदारसरह सजाय गर्न माग गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *