शक्तिको स्वेच्छाचारी प्रयोग गर्दै सरकारको प्रवृत्तिले सीमा नाघ्यो : गगन थापा
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैली र प्रवृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन्।
हालै सञ्चारमाध्यम र सञ्चारकर्मी लक्षित कारबाही तथा धरपकडका घटनाहरूपछि विभिन्न मिडिया हाउस पुगेर मिडियाकर्मीहरूलाई ऐक्यबद्धता जनाउँदै थापाले सरकारको स्वेच्छाचारी कदमप्रति कडा आपत्ति जनाएका हुन्।
“अहिले सरकारको कामकारबाही गम्भीर र चिन्तित भएर हेर्नुपर्ने विषय बनेको छ। सरकारको प्रवृत्ति नै चिन्ताजनक छ,” सभापति थापाले भने, “हामी नै राज्य (स्टेट) हौं, हामीले बोलेको कुरा हुकुम हुन्छ, अनि अड्डा, अदालत, प्रहरी सबै हाम्रा आदेश पालना गर्ने निकाय हुन् भन्ने सोच सरकारमा हावी भयो।”
उनले सरकारले शक्तिको चरम स्वेच्छाचारी प्रयोग गरिरहेको आरोप लगाउँदै थपे, “मेरो इच्छा नै कानुन हो भन्ने शैलीमा सरकार अघि बढेको छ। अहिले भइरहेको ठ्याक्कै त्यही हो, सरकारको यस्तो प्रवृत्तिले अब हद नाघेको छ।”
सञ्चारमाध्यममाथिको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश र राज्य संयन्त्रको दुरुपयोगविरुद्ध नेपाली कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत उनले दिएका छन्।
“हामी विगतमा गठबन्धन सरकारमा हुँदा पनि सरकारले कुनै नराम्रो काम गरे त्यसको विरुद्धमा प्रस्ट रूपमा आवाज उठाउँथ्यौं,” थापाले भने, “त्यसबेला रास्वपाका नेता तथा सांसदहरूले ‘कांग्रेसले गल्ती गर्यो, यसको जवाफ दिनुपर्छ’ भन्नुहुन्थ्यो। तर, आज आफ्नै पार्टी संलग्न रहेको सरकारको हकमा चाहिँ यो विषय लागु नहुने हो?”
रास्वपाले सरकारका गलत कदमप्रति केवल औपचारिक वक्तव्य निकालेर पन्छिन नमिल्ने बताउँदै उनले नतिजामुखी कदम चाल्न चुनौती दिए।
“हामीलाई औपचारिकता निभाउने वक्तव्य होइन, ठोस परिणाम चाहिएको छ,” थापाले भने, “साँच्चिकै निष्ठा बाँकी छ भने रास्वपा संसदीय दलको बैठक बसोस्, त्यहाँ प्रधानमन्त्रीलाई बोलाइयोस्, उहाँलाई स्पष्ट निर्देशन दिइयोस् र त्यो निर्देशन बोकेर कार्यान्वयनमा लगियोस्। हामीले हेर्न चाहेको त्यो हो।”
सरकार निरङ्कुश र स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोप लगाउँदै सभापति थापाले सत्ताको आडमा विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यता मिच्ने छुट कसैलाई पनि नहुने स्पष्ट पारे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment