ब्राउन सुगरसहित दुई जना पक्राउ गर्न प्रहरीले गर्‍यो दुई राउन्ड हवाई फायर

डिसी नेपाल
१५ कार्तिक २०८३ २१:४९
8
Shares

रुपन्देही। कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ। लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका दुई जनालाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको हो।

वाणगङ्गा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा प्रहरीले छापा मारेको थियो। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगङ्गा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार लागूऔषध कारोबार भइरहेको गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा सात सदस्यीय प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्यूरो भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा खटिएको टोलीले संयुक्त रूपमा पसलमा छापा मारेको थियो।

प्रहरीले खानतलासी गर्ने क्रममा दुवै जना भाग्न खोजेपछि प्रहरी नायब निरीक्षक भट्टराईले आफूसँग रहेको ब्यारेटा पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए।

त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कालो प्लास्टिकमा लुकाइराखेको २४ ग्राम १८० मिलिग्राम र उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको यूपी ५५ एभी २६५९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइएको थप चार ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै स्थानबाट बरामद भएको ब्राउन सुगरको शुद्ध तौल २८ ग्राम ८२० मिलिग्राम रहेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *