नेपालमा सामाजिक रूपान्तरण र सकारात्मक सोचको विकास कहिले?

शंकरप्रसाद रिजाल
१६ कार्तिक २०८३ १३:००
8
Shares

“नेपालमा सामाजिक परिवर्तन र सकारात्मक सोचको विकास कहिले हुन्छ?” – यो प्रश्न आज हरेक सचेत नेपालीले आफैंलाई सोधिरहेको अहम् प्रश्न बनेको छ।

हामीले राजनीतिक व्यवस्था फेर्‍याैं, राजतन्त्र फाल्यौं, पटक-पटक नयाँ संविधान लेख्यौं र संघीयता पनि ल्यायौं। तर, के हाम्रो समाज फेरियो त? मानिसको सोच र चेतनामा परिवर्तन आयो त? पक्कै आएन, न समाज फेरियो, न त मानिसको चिन्तन नै बदलियो।

कटु सत्य के हो भने, हामीले घरको बाहिरी रङ पटक-पटक फेर्‍याैं, तर त्यसको मजबुत धरातल र जग भने बिर्सियौं। आफ्नो जीवनशैलीलाई आफ्नै धर्म, संस्कृति र मौलिक पहिचानको रङमा ढाल्ने कोसिस नै गरेनौं।

बरु, पश्चिमा संस्कृतिको अन्धो सिको गर्दै आयातित विकृतिहरू भित्र्याएर जीवनको आहारविहार र दिनचर्यालाई बिस्तारै बिगार्दै लगिरहेका छौँ। यो अवस्था निरन्तर कायम रहेमा भोलिको सन्तति र समाज कस्तो बन्ला? निश्चित रूपमा भन्न सकिन्न। कहिलेकाहीँ त हाम्रा मौलिक धर्म-संस्कृति नै लोप हुने हुन् कि भन्ने गम्भीर त्रास उत्पन्न भएको छ।

हामी किन फेरिएनौं?

परिवर्तन घरमा होइन, सडकमा खोज्ने बानी

हामी परिवर्तनलाई सडक र राजनीतिमा खोज्छौँ, तर आफ्नै घरभित्र खोज्दैनौं। सरकार फेरिए देश बन्छ भन्ने हाम्रो भ्रम छ, तर वास्तवमा समाजको निर्माण घरबाट सुरु हुन्छ।

जुन घरमा अझै पनि छोरीहरूमाथि विभेद गरिन्छ, छोरीलाई ‘पराया धन’ ठानिन्छ, जात सोधेर कोठा वा घर भाडामा दिइन्छ र बुहारीहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिन्छ, त्यस्तो सोच भएको देशका घरहरूबाट कसरी नयाँ समाज बन्छ? बन्दैन! त्यसैले यस्ता सामाजिक कुरीति र विभेदलाई जरैदेखि उखेलेर फाल्नुपर्छ।

नकारात्मक आदत-हाम्रो ‘राष्ट्रिय भोजन’

नकारात्मक चिन्तन र टीकाटिप्पणी गर्नु मानो हाम्रो राष्ट्रिय आदत नै बनिसकेको छ। बिहान जुरुक्क उठेपछि सामाजिक सञ्जाल (फेसबुक) खोल्ने र कसैलाई गाली गर्ने, कार्यालय पुगेर दिनभर नचाहिने गफ हाँक्ने, चिया पसलमा बसेर ‘देश सकियो, अब केही हुन्न’ भनेर निराशा बाँड्ने, अनि बेलुका समाचार हेरेर झन् तनावग्रस्त बन्ने।

राम्रो कामको प्रशंसा नगर्ने, तर अरूको कुरा काटेर दिन बिताउने, चाकडीमा तल्लीन हुने र असत्य कुराहरूको पछि दौडिने सोचले समाजमा कसरी परिवर्तन ल्याउँछ? कदापि ल्याउँदैन। तसर्थ, यो नकारात्मक आदतलाई हामीले तुरुन्तै त्याग्नै पर्छ।

‘आफू होइन, अरू फेरियोस्’ भन्ने सोच:

हाम्रो समाजमा सबै अरू सुधारिएको हेर्न चाहन्छन्। नेता भन्छन्- कार्यकर्ता सुध्रिऊन्; कार्यकर्ता भन्छन्- नेता फेरिऊन्। शिक्षक चाहन्छन्- विद्यार्थी सुध्रियोस्; विद्यार्थी भन्छन्- शिक्षक बदलियोस्।

तर, ‘म आफूबाटै परिवर्तनको सुरुआत गर्छु’ भनेर कसैले भन्दैनन्। समाजलाई रूपान्तरित र सुसंस्कृत बनाउन पहिले आफैँबाट सुरुआत गर्नु नितान्त आवश्यक छ। “आफू भलो त जगतै भलो” भन्ने शाश्वत धारणा हामी सबैमा आउनु पर्छ।

सकारात्मक सोचको विकास कहिले र कसरी हुन्छ?

सकारात्मक सोचको विकास हुनु कुनै जादुको छडी घुमाउनुजस्तो सहज कुरा पक्कै होइन। यसको विकास मुख्यतया तीन तहबाट सुरु हुनुपर्छ:

पहिलो तह: शिक्षामा आमूल क्रान्ति

हाम्रो शिक्षा प्रणालीले केवल जागिर खोज्ने मानिस मात्र तयार पार्यो, सकारात्मक सोच र चरित्र भएको नागरिक बनाउन सकेन। कक्षा १ देखि नै हाम्रा बालबालिकाहरूलाई मुख्य दुई कुरा अनिवार्य रूपमा सिकाउनुपर्छ: पहिलो, प्रश्न गर्न सिकाउने र दोस्रो, श्रमको सम्मान गर्न सिकाउने।

डाक्टर, इन्जिनियर, शिक्षक वा किसान-सबै पेसा र श्रम उत्तिकै आदरणीय हुन् भन्ने भावना बालबालिकामा जगाउनुपर्छ। जबसम्म हामीले किताबको पढाइ र पेसाका आधारमा मानिसको इज्जत र हैसियत नाप्ने काम गर्छौँ, तबसम्म समाज फेरिन सम्भव हुँदैन।

दोस्रो तह: सफलताको नयाँ परिभाषा

आज नेपालमा सफलताको एउटै मात्र सङ्कुचित परिभाषा बनाइएको छ- त्यो हो सरकारी जागिर, विदेश जाने सोच र लोकसेवा परीक्षा उत्तीर्ण गर्नु। जबसम्म हामी यो परम्परागत सोचबाट बाहिर निस्कन सक्दैनौँ, तबसम्म सकारात्मक सोच आउन सक्दैन।

जुम्लामा स्याउ फलाउने किसान, कालिकोटमा होमस्टे चलाउने आमा र काठमाडौंमा इमानदारीका साथ अटो चलाउने चालक दाजुभाइ पनि उत्तिकै सफल व्यक्ति हुन् भनेर जब समाजले स्वीकार गर्न थाल्छ, तब मात्र मानिसले आफ्नो काममा गर्व गर्न थाल्छ। अनि जहाँ श्रमको गर्व हुन्छ, त्यहीँ सकारात्मक विचारको जन्म हुन्छ।

तेस्रो तह: साना-साना इमानदारीको अभ्यास

ठूला ठूला भाषण र कागजी योजनाले मात्र ठुलो परिवर्तन आउँदैन। प्रत्येक व्यक्तिले आफैँलाई सुधार्दै लैजानुपर्छ। जस्तै: लाइनमा बसेर काम गर्ने, जथाभाबी फोहर नफाल्ने, आफ्नो जिम्मेवारीमा दत्तचित्त भएर लाग्ने, तोकिएको समयभन्दा १५ मिनेट अगावै पुग्ने बानी बसाल्ने, अरूको सफलतामा खुसी हुँदै ताली बजाउने र गल्तीमा रचनात्मक सुझाव दिने।

‘भन्ने’ भन्दा पनि ‘गरेर देखाउने’ प्रवृत्तिको विकास गर्ने, समाजमा सधैं सकारात्मक सोचको प्रचार गर्ने, शिष्ट भाषा बोल्ने, जाँड-रक्सी र धुम्रपानजस्ता कुलतबाट टाढा रहने तथा सधैँ नयाँ र सिर्जनात्मक विचारलाई प्रश्रय दिने। यी व्यवहारहरूलाई आफ्नो दैनिक जीवनमा अपनाउन सके जीवन र समाजमा नयाँ रूपान्तरण आउने बलियो सम्भावना रहन्छ।

सामाजिक परिवर्तन केवल संविधान र कानुनका पानामा लेखेर आउँदैन, यसको वास्तविक परिणाम त मानिसको व्यवहारमा देखिनुपर्छ। नेपालमा जुन दिन हामी अरूलाई गाली गर्न छाडेर आफ्नो घर-आँगन सफा गर्न थाल्छौं, जुन दिन “यो देशमा केही हुँदैन” भनेर निराशा बाँड्न छाडी “मबाट के हुन सक्छ?” भनेर सोच्न थाल्छौं, त्यही दिनदेखि मानिस र समाजको सोचमा वास्तविक परिवर्तनको सुरुआत हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *