नर्थ क्यारोलाइनाको रालेमा पशुपति बुद्ध मन्दिरका लागि करिब १३ एकर जग्गा खरिद
नर्थ क्यारोलाइना। अमेरिकाको नर्थ क्यारोलाइनास्थित राले आसपास पशुपति बुद्ध मन्दिर तथा सामुदायिक केन्द्र निर्माणका लागि करिब १३ एकर (सात बिघा) घरजग्गा खरिद गरिएको छ। पशुपति बुद्ध मन्दिर अफ नर्थ क्यारोलाइना (पिबिएमएनसी) का सञ्चालक समिति सदस्य सुजन न्यौपानेले गत अक्टोबर ३० मा उक्त सम्पत्ति खरिद गरेका हुन्।
समुदायको सहभागितामा आवश्यक रकम जुटाएर एक वर्षभित्र सो सम्पत्तिलाई संस्थाको पूर्ण स्वामित्वमा ल्याउने योजना रहेको पिबिएमएनसीले जनाएको छ। सुरी रियल इस्टेट ग्रुप इन्कमार्फत खरिद गरिएको घरजग्गा ९९९० स्टेट हाइवे ७५१, डरहम, नर्थ क्यारोलाइना २७७१३ मा अवस्थित छ।
नर्थ क्यारोलाइनाको राजधानी राले आसपास बसोबास गर्ने नेपालीहरूले एक दशकअघिदेखि आफ्नै मन्दिर बनाउने सपना साचेका थिए। पूजाआजाका लागि भारतीय समुदायले स्थापना गरेका मन्दिरमा जाने गरेका उनीहरूले आफ्नै धार्मिक तथा सांस्कृतिक केन्द्र निर्माणको पहल अघि बढाएका हुन्।
संस्थाको नेतृत्व गरिरहेका डा. विकास शाक्यले घरजग्गा खरिदसँगै नेपाली समुदायका लागि स्थायी धार्मिक तथा सांस्कृतिक केन्द्र बनाउने अभियान अघि बढेको बताए। ‘यो एउटा सुखद सुरुवात भएको छ।
तर हाम्रो उद्देश्य प्राप्तिका लागि समुदायका सबै सदस्य एकजुट हुनुपर्छ,’ उनले भने, ‘नर्थ क्यारोलाइनामा नेपाली समुदायका लागि स्थायी धार्मिक तथा सांस्कृतिक केन्द्र बनाउने अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।’

नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) का पूर्वअध्यक्षसमेत रहेका शाक्यले खरिदसम्बन्धी वित्तीय सम्झौता र रकम संकलनको विस्तृत योजना आगामी दिनमा सार्वजनिक गरिने जानकारी दिए। घर निर्माण तथा घरजग्गा कारोबारमा संलग्न न्यौपानेको सुरी बिजनेस ग्रुपले घर निर्माण, घरजग्गा किनबेच तथा लेखासम्बन्धी सेवा प्रदान गर्दै आएको छ।
सामाजिक गतिविधिमा समेत सक्रिय न्यौपानेले नेपालीको बसोबास बढेसँगै आफ्नै मन्दिर र सामुदायिक केन्द्रको आवश्यकता महसुस गरेर पहल थालेको बताए। ‘यहाँ नेपालीको संख्या दिनप्रतिदिन बढिरहेको छ। समुदायका लागि आफ्नै मन्दिर र सामुदायिक केन्द्र होस् भन्ने चाहनाले मैले आफ्नोतर्फबाट पहल गरेको हुँ,’ उनले भने।
ग्रेट रियल्टर एलएलसीका सञ्चालक तथा रियल्टर जितमान बस्नेतले सम्पत्ति खरिदसँगै राले आसपास बस्ने नेपालीको वर्षौँदेखिको सपना पूरा गर्ने दिशामा प्रगति भएको बताए। ‘राले आसपास बस्ने नेपालीको वर्षौँदेखिको सपनाले एउटा फड्को मारेको छ,’ उनले भने, ‘अब सामूहिक सहयोगबाट मन्दिर र सामुदायिक केन्द्र निर्माण गर्न हातेमालो गर्नुपर्छ।’
खरिद गरिएको परिसरमा चार बेडरुमको घरसहित विभिन्न प्रयोजनमा प्रयोग गर्न सकिने चारवटा छुट्टाछुट्टै संरचना रहेको संस्थाले जनाएको छ। प्रवेशद्वारनजिकका दुई भवनभित्र रहेका साना–ठूला कोठालाई कक्षाकोठा, सामुदायिक संस्थाका कार्यालय, बैठक कक्ष तथा भण्डारण कक्षका रूपमा उपयोग गर्न सकिने बताइएको छ।

परिसरमा दुईवटा ठूला हलजस्ता संरचना पनि छन्। तीमध्ये एउटालाई कार्यक्रम केन्द्रका रूपमा विकास गर्ने सम्भावना रहेको न्यौपानेले बताए। उनका अनुसार त्यहाँ मञ्चसहितका ठूला कार्यक्रम आयोजना गर्ने तथा समुदायका सदस्यलाई निजी र पारिवारिक कार्यक्रमका लागि भाडामा उपलब्ध गराउने योजना छ। ‘विभिन्न सांस्कृतिक कार्यक्रम तथा गतिविधि आफ्नै भवनमा आयोजना गर्ने हाम्रो चाहना पूरा गर्न यो संरचना उपयोगी हुन सक्छ,’ उनले भने।
अर्को हललाई पूजापाठ, भजन, ध्यानलगायत धार्मिक तथा आध्यात्मिक गतिविधि सञ्चालन गर्ने स्थानका रूपमा विकास गर्ने योजना छ। ‘पशुपति मन्दिर र बौद्ध स्तूपको निर्माण सम्पन्न नभएसम्म यस संरचनाले हाम्रा पूजाआजा, अनुष्ठान तथा अन्य धार्मिक कार्यक्रमका लागि उपयुक्त स्थान र वातावरण उपलब्ध गराउन सक्छ,’ शाक्यले भने।
उनका अनुसार करिब १३ एकरमा फैलिएको परिसरमा प्रस्तावित पशुपति मन्दिर र बौद्ध स्तूप निर्माणका साथै खेलकुद, पिकनिकलगायत गतिविधि सञ्चालन गर्न सकिने खुला स्थान छ। केन्द्रलाई विभिन्न पुस्ताबीच सम्बन्ध जोड्ने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य संस्थाले राखेको छ।
नेपाली समुदायका अगुवा तथा व्यवसायी माधव ढकालले मन्दिरका लागि सम्पत्ति खरिद हुनु समुदायका लागि खुसीको खबर भएको बताए। उनले यस पहलमा न्यौपानेले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै साझा सपना पूरा गर्न पिबिएमएनसीसँग सहकार्य गर्न आग्रह गरे। ‘यो नर्थ क्यारोलाइनाको नेपाली समुदायका लागि ठूलो गर्वको विषय हो,’ उनले भने।

नर्थ क्यारोलाइनामा पछिल्ला पाँच–छ वर्षयता नेपालीको बसोबास बढ्दै गएको समुदायका अगुवाहरू बताउँछन्। राले आसपासका केरी, मोरिसभिल, एपेक्स, होली स्प्रिङ्स, फ्युके भेरिना, गार्नर, क्लेटन, वेक फरेस्ट, डरहम, च्यापल हिल, वेन्डेल, नाइटडेल र न्यु हिललगायत क्षेत्रमा नेपालीको बसोबास छ। राज्यका ग्रिन्सबोरो, हाई प्वाइन्ट र सार्लोटमा पनि नेपाली समुदायको बाक्लो उपस्थिति छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment