पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा मुगुका स्थानीयलाई सास्ती

डिसी नेपाल
१६ कार्तिक २०८३ १८:५१

मुगु। मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुले सास्ती खेप्नुपरेको छ। खत्याड गाउँपालिका–८, नुवाखेतमा लगातार सुक्खा पहिरो खस्न थालेपछि उक्त सडक पूर्ण रूपमा बन्द भएको हो।

सडक अवरुद्ध हुँदा खत्याड गाउँपालिकाका ११ वटै वडाका स्थानीयवासीलाई आवतजावतमा ठूलो समस्या भएको छ। यसका साथै, रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र जुम्लाको गोठीज्युला जाने यात्रुसमेत प्रभावित भएका छन्।

सदरमुकाम, गाउँपालिका केन्द्र, इलाका प्रशासन कार्यालय, स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सेवा लिन जाने नागरिकहरू बढी कठिनाइमा परेका छन्। विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, विद्यार्थी र अशक्त व्यक्तिहरू यसबाट नराम्ररी प्रभावित भएका छन्। पहिले करिब पाँच मिनेटमा पार गरिने दूरीका लागि अहिले आधा घण्टाभन्दा बढी कठिन उकालो चढेर फेरि १५ देखि २० मिनेट ओरालो झर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

पहिरोका कारण सडक मात्र होइन, सिँचाइ कुलो, झोलुङ्गे पुल, खानेपानीका संरचना, गोरेटो बाटो र ठूलो क्षेत्रफलको खेतीयोग्य जमिन नष्ट भएको छ। आसपासका घरबस्तीसमेत जोखिममा परेपछि स्थानीय त्रसित बनेका छन्।

खत्याड–८ आमगाउँका स्थानीय सम्पत्ति कार्कीका अनुसार पहिरोले तलतर्फका तीन–चार गाउँको सिँचाइ कुलो र जमिनको नामोनिसानै मेटाइदिएको छ। ‘लगभग पूरै पालिकालाई खाद्यान्न उपलब्ध गराउने आमजिउलाको खेतीयोग्य जमिन अब बाँझो हुने अवस्थामा पुगेको छ,’ उनले दुखेसो पोखे। गहुँ छर्ने समय आइसक्दा पनि सिँचाइ कुलो र बाटो नहुँदा किसानहरू चिन्तित छन्।

मुख्यमन्त्रीको अनुगमन र सरोकारवालाको पहल

गत कात्तिक ९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै तत्काल सडक सञ्चालन तथा दीर्घकालीन समाधानका लागि भूगर्भविद्सहितको प्राविधिक अध्ययन गराउने प्रतिबद्धता जनाएका थिए।

समस्या समाधानका लागि आइतबार खत्याड गाउँपालिकाका वडा नं. ६, ८ र ११ का वडाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, स्थानीय बासिन्दा तथा सरोकारवालाबीच छलफल भएको छ। छलफलले निर्माण समिति गठन गरी तत्काल सडक सञ्चालन र दीर्घकालीन समाधानका लागि पूर्वाधार विकास कार्यालय मुगुसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ।

पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख सुशील आचार्यले पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली पठाएर पहिरोको प्रकृति हेरी तत्काल सडक खुलाउने र दीर्घकालीन उपाय पहिचान गरिने बताएका छन्।

खत्याड–रारा–गमगढी सडकखण्डको मुख्य प्रवेश मार्गमै लामो समयदेखि यातायात ठप्प हुँदा स्थानीय जनजीवन, कृषि उत्पादन र पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ। प्रभावित बासिन्दाले यथाशीघ्र सडक सञ्चालनमा ल्याउन र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधानको जोडदार माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *