बडीमालिकामा मृत भेटिएका युवकको शव हेलिकप्टरबाट मार्तडी ल्याइयो

डिसी नेपाल
१६ कार्तिक २०८३ २१:१६
8
Shares

काठमाडौं । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा मृत भेटिएका युवकको शव नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी घर भएका २० वर्षीय मनिष बोहराको शव सोमबार हेलिकप्टरबाट मार्तडी ल्याइएको हो।

बडीमालिकामा भारी हिमपात भएपछि गत शुक्रबारदेखि सम्पर्कविहीन भएका बोहरा आइतबार दिउँसो त्रिवेणी पाटननजिक मृत भेटिएका थिए।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार शव सदरमुकाम ल्याएर परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

बडीमालिका माताको दर्शनसँगै घुम्न गएका बोहरा सम्पर्कविहीन भएपछि आइतबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजीमा खटिएको थियो। चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिकामा हिमपातपछि अत्यधिक चिसोका कारण लेक लागेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

यसअघि हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। उनलाई पनि मार्तडी ल्याइएको थियो।

भारी हिमपातका कारण घटनास्थलसम्म पुग्न कठिनाइ भएपछि हेलिकप्टरको सहयोगमा खोजी तथा उद्धार कार्य अघि बढाइएको हो।

बडीमालिका क्षेत्र उच्च हिमाली भूभागमा पर्ने भएकाले यहाँ मौसममा एक्कासि परिवर्तन हुने र भारी हिमपात हुने जोखिम रहन्छ। प्रतिकूल मौसममा तीर्थयात्रा तथा भ्रमणमा जानेले आवश्यक तयारी, मौसमको जानकारी र सुरक्षासम्बन्धी सावधानी अपनाउनुपर्ने जानकारहरू बताउँछन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *