भारतको अत्यन्तै महंगो विवाहः मोदीलाई समेत निमन्त्रणा, एउटा कार्डको लागत २० हजार
काठमाडौं । आइपीएल टिम सनराइजर्स हैदराबादकी प्रमुख कार्यकारी अधिकृत तथा सन ग्रुपका मालिक कलानिधि मारनकी छोरी काव्या मारन आगामी नोभेम्बर ११ मा वैवाहिक बन्धनमा बाँधिने भएकी छन्। भारतकी चर्चित महिला उद्यमीका रूपमा परिचित काव्याको विवाह ग्रीसको एक आकर्षक गन्तव्यमा सम्पन्न हुनेछ।
काव्याको विवाह दक्षिण भारतीय सिनेमाका चर्चित तथा महँगा सङ्गीतकार अनिरुद्ध रविचन्दरसँग हुन लागेको हो। ‘कोलावेरी डी’ गीतका साथै चर्चित बलिउड चलचित्र ‘जवान’ मा सङ्गीत दिएर ख्याति कमाएका अनिरुद्ध भारतीय सङ्गीत उद्योगका शीर्ष सङ्गीतकारमा गनिन्छन्।
उक्त बहुप्रतिक्षित विवाह समारोहमा भारतका शीर्ष राजनीतिज्ञ, उद्योगपति, कलाकार तथा खेलाडीहरूको उपस्थिति रहने जनाइएको छ। विवाहका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै विभिन्न राज्यका मुख्यमन्त्रीहरूलाई निमन्त्रणा पठाइएको छ। प्रत्येक निमन्त्रणा कार्डको मूल्य करिब २० हजार भारतीय रुपैयाँ बराबर रहेको दाबी गरिएको छ।
प्राकृतिक सुन्दरता, सेता भवन तथा मनोरम समुद्री तटका लागि प्रसिद्ध ग्रीसलाई विवाहको गन्तव्य (डेस्टिनेसन वेडिङ) का रूपमा छनोट गरिएको छ। काव्या मारन २५ हजार करोड रुपैयाँभन्दा बढी मूल्य निर्धारण गरिएको ‘सन ग्रुप’ की उत्तराधिकारी हुन् भने अनिरुद्ध रविचन्दर पनि सिनेमा र सङ्गीत जगत्का स्थापित व्यक्तित्व हुन्। यस विवाहलाई व्यापार र मनोरञ्जन क्षेत्रको एक ठूलो र प्रभावशाली संगमका रूपमा हेरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment