कार्तिक २० मा रिलिज हुँदै ‘पाँच पाण्डव’: भीमसेनको रोचक अवतारमा देखिँदै अभिनेता जितु नेपाल
काठमाडौं। यही कार्तिक २० गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’ मा अभिनेता जितु नेपाल रोचक ‘भीमसेन’ को चरित्रमा पर्दामा देखिँदै छन्।
चलचित्रको सार्वजनिक ट्रेलरमा अभिनेता हरिवंश आचार्यले जितुलाई भीम भनेर सम्बोधन गर्दा उनले ‘म त भीमसेन हो’ भनेर दिएको संवादले दर्शकको ध्यान तानेको छ।
पौराणिक कथा महाभारतका पाँच पाण्डवमध्ये भीम सबैभन्दा बलिष्ठ र भीमकाय शरीर भएका पात्रका रूपमा परिचित भए पनि चलचित्रमा होचा-पुड्का जितुलाई सो भूमिकामा प्रस्तुत गरिएपछि दर्शकबीच कौतुहलता र चर्चा चुलिएको छ।
यसबारे स्पष्ट पार्दै अभिनेता जितु नेपालले चलचित्रमा आफू पूर्ण रूपमा पौराणिक भीम नभई इट्टाभट्टामा काम गर्ने एक मजदुरको भूमिकामा रहेको खुलाएका छन्।
कथाअनुसार स्वर्गमा रहेका युधिष्ठिरलाई ५१ सय वर्षपछि भाइहरूको सम्झना आउँदा भगवानले नेपाल नगरीमा जन्मेको बताएपछि उनी खोज्न आउने र नेपाल नगरीका पात्रहरूलाई ‘तँ भीम होस्’, ‘तँ अर्जुन होस्’ भन्दै चिनाउने काल्पनिक तथा सामाजिक प्रसंग बुनिएको जितुले जानकारी दिए।
यस चलचित्रमा जितुका लागि तीन मुख्य चुनौती रहेका थिए- पहिलोपटक दीपाश्री निरौलासँग श्रीमान्-श्रीमतीको भूमिकामा देखिनु, वरिष्ठ अभिनेता हरिवंश आचार्यसँग पहिलोपटक स्क्रिन सेयर गर्नु र बहुकलाकार (मल्टी-स्टारर) सम्मिलित ठूलो क्यानभासमा आफ्नो पृथक उपस्थिति दर्ता गराउनु।
‘ज्वाइँ साब’ का निर्देशक वसन्त निरौला, ‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठ र लेखक सुशील पौडेलसँगको सहकार्यमा बनेको यस फिल्ममा दर्शकले जितुको सिग्नेचर कमेडी स्वाद पनि लिन पाउनेछन्।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको र वसन्त निरौलाले निर्देशन गरेको ‘पाँच पाण्डव’ ले महाभारतका पात्रहरूको बिम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने लेखक सुशील पौडेलले बताएका छन्।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, दीपाश्री निरौला, महेश त्रिपाठी, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, सरिता गिरी, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र डल्बी एटमस साउन्ड सिस्टममा तयार पारिएको यो सोसल ड्रामालाई आरआर फिल्म्सले देशभर वितरण गर्दै छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment