राष्ट्रपतिसमक्ष दुई वटा अध्यादेश सिफारिस
काठमाडौं। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुई अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।
जस अनुसार, प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ।
यसैगरी बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार सडक सुधार परियोजनाका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसैगरी, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारका तर्फबाट थप हकप्रद शेयर लगानी गर्नसमेत सहमति प्रदान गरिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री-वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्दै ‘मल नियन्त्रण आदेश, २०८३’ स्वीकृत गरिएको छ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा तुर्किएको आन्ताल्यामा २०८३ कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (काेप-३) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ।
त्यस्तै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत मोही लागेको जग्गामा जग्गावाला र मोहीले जग्गा बाँडफाँटका लागि निवेदन दिने अवधि २०८५ कात्तिक मसान्तसम्म र कारबाहीको टुङ्गो लगाउने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गरिएको छ।
यसबाहेक, बैठकले ‘प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment