१५औं महाधिवेशन तयारी तीव्र : देउवा समूहद्वारा हालसम्म २६ जिल्लामा अधिवेशन सकियो

डिसी नेपाल
१७ कार्तिक २०८३ १७:००
8
Shares

काठमाडौं।  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत हालसम्म २६ जिल्लामा अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ। मङ्गलबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता डा. प्रकाशशरण महतले अधिवेशनको प्रगति विवरण सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म २६ वटा जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने थप सात जिल्लामा अधिवेशनको उद्घाटन भइसकेको छ। त्यस्तै आगामी कात्तिक २२ गतेभित्र देशैभरका सबै जिल्लाहरूको अधिवेशन सम्पन्न गर्ने गरी आन्तरिक तयारी तीव्र पारिएको छ।

तल्लो तहका निर्वाचन क्षेत्रहरूको विवरण प्रस्तुत गर्दै नेता महतले देशभर ६१८ वटा पालिका, २२८ वटा प्रदेश सभा र ११४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको बताए।

उनले तोकिएकै समयसीमा अर्थात् आगामी मङ्सिर २१ देखि २३ गतेसम्म हुने १५औँ महाधिवेशनको औपचारिक उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाबाट हुने जानकारीसमेत दिए।

कम समय अन्तरालमा प्रक्रिया अघि बढाइए पनि कार्यकर्ताहरूमा देखिएको सक्रियता र उत्साहपूर्ण सहभागिताले आफूहरू उत्साहित भएको उनले बताए। कार्यकर्ताहरूले स्वयम्सेवी भावना र न्याय-विधिको पक्षमा उभिएर काम गरिरहेको उनको भनाइ थियो।

साथै, विशेष महाधिवेशन पक्षधर मानिएका धेरै साथीहरू समेत आफ्नो समूहमा जोडिने क्रम जारी रहेको उल्लेख गर्दै नेता महतले आगामी मङ्सिर २१, २२ र २३ गते हुने महाधिवेशनमा सक्रिय रूपमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *