डोल्पा कारागारबाट सुरुङ खनेर भागेका थप दुई कैदी पक्राउ, चार जना अझै फरार

डिसी नेपाल
१८ कार्तिक २०८३ ७:१९

सुर्खेत। डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीमध्ये थप दुई जना पक्राउ परेका छन्। योसँगै पक्राउ पर्नेको सङ्ख्या चार पुगेको छ भने चार जना अझै फरार रहेका छन्।

बुधबार बिहान ३ बजे डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ बाट त्रिपुरासुन्दरी नगरपालिका-७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका-९ का कपिल परियार पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्।

यसअघि मङ्गलवार रुकुम पश्चिमबाट आठबिसकोट नगरपालिका-१० का रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का रेशम राना पक्राउ परिसकेका छन्।

कारागारबाट फरार भएकाहरूमध्ये अब डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ का हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी फरार रहेका छन्।

गत कात्तिक १४ गते राति जिल्ला कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डमा सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए। फरार कैदीहरूको खोजीका लागि प्रहरीले विभिन्न क्षेत्रमा विशेष टोली परिचालन गरी तीव्रता दिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *