गगन थापाविरुद्ध सरकारको ‘मिडिया ट्रायल’ : लोकतन्त्र र नागरिक स्वतन्त्रतामाथि प्रहार भएको विराज भट्टको आरोप

डिसी नेपाल
१८ कार्तिक २०८३ १०:२३

काठमाडाैं। नेपाली कांग्रेसका प्रदेश ‘ख’ का उपसभापति विराज भट्टले पार्टीका प्रभावशाली नेता (तथा सभापति) गगन थापाविरुद्ध बालेन नेतृत्वको सरकारले ‘मिडिया ट्रायल’ मार्फत जनमत प्रभावित पार्ने र नागरिकका आवाजलाई दबाउने कुत्सित प्रयास गरिरहेको कडा आरोप लगाएका छन्।

जनताले ठूलो आशा र भरोसाका साथ हेरेका नेता थापाले पछिल्लो समय वर्तमान सरकारको कार्यशैली, अकर्मण्यता र जवाफदेहितामाथि निरन्तर प्रश्न उठाउन थालेपछि उनीविरुद्ध सुनियोजित ढंगले दुष्प्रचार गरिएको भट्टको दाबी छ।

भट्टले लोकतान्त्रिक प्रणालीमा सरकारको आलोचना गर्नु, सत्ताको कार्यशैलीमाथि खबरदारी गर्नु र नागरिकका हक-अधिकारका पक्षमा आवाज बुलन्द गर्नु कुनै अपराध नभएको उल्लेख गरे। सरकारका गलत नीतिका विरुद्ध प्रश्न उठाउनेहरूलाई नै निशाना बनाउने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चुनौती बनेको उनले बताए।

उनका अनुसार जनताले परिवर्तन, सुशासन र जवाफदेहिताको अपेक्षासहित दिएको जनमतको सम्मान गर्नु सरकारको प्राथमिक दायित्व हो। तर, आफ्ना कमजोरी र असफलतामाथि प्रश्न उठाउने राजनीतिक नेतृत्व र आम नागरिकलाई भय तथा त्रासको वातावरणमा राखेर आवाज दबाउने प्रयास भइरहेको छ। यस्तो प्रवृत्तिले लोकतन्त्रको मूल मर्ममाथि नै सिधा प्रहार गर्ने उनको भनाइ छ।

यसै सन्दर्भमा भट्टले लोकतान्त्रिक मूल्य, मान्यता, संविधान र विधिको शासनमा विश्वास गर्ने सम्पूर्ण राजनीतिक शक्ति तथा सचेत नागरिकहरूलाई एकै ठाउँमा उभिन आह्वान गरेका छन्।

उनले भनेका छन्, “लोकतन्त्र र संविधानको रक्षा गर्नु, नागरिकका आवाजलाई दबिन नदिनु र विधिको शासन कायम राख्नु आजको प्रमुख दायित्व हो। भय र त्रासको वातावरण सिर्जना गरेर स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्ने प्रवृत्तिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट भएर सशक्त प्रतिकार गर्नुपर्ने बेला आएको छ।”

भट्टले सरकारको आलोचना गर्ने रचनात्मक आवाजलाई राजनीतिक प्रतिशोधको विषय बनाइनु नहुनेमा विशेष जोड दिए। लोकतन्त्रमा सरकार सर्वसाधारण जनताप्रति उत्तरदायी हुनुपर्ने र नागरिकले विना कुनै डर र निर्भीकतापूर्वक प्रश्न गर्न पाउने अधिकारको पूर्ण ग्यारेन्टी हुनुपर्ने उनको तर्क छ।

उनका अनुसार लोकतान्त्रिक व्यवस्था केवल आवधिक निर्वाचनबाट सरकार गठन गर्ने प्रक्रियामा मात्र सीमित हुँदैन। नागरिकको अभिव्यक्ति स्वतन्त्रता, संविधानको सर्वोच्चता, विधिको शासन र सरकारको पारदर्शिता एवं जवाफदेहिता नै लोकतन्त्रका आधारभूत स्तम्भ हुन्। यी स्थापित मूल्य र मान्यतामाथि प्रहार हुँदा त्यसको डटेर प्रतिकार गर्नु सबै लोकतन्त्रवादीहरूको साझा र नैतिक जिम्मेवारी बन्ने उनले बताए।

सरकारको कार्यशैलीमाथि प्रश्न उठाउने राजनीतिक नेतृत्वलाई मिडिया ट्रायलको माध्यमबाट कमजोर बनाउने र चरित्रहत्या गर्ने प्रयास भइरहेको आरोप लगाउँदै भट्टले लोकतन्त्रमा असहमति र आलोचनालाई सम्मान गर्ने संस्कृति बसाल्नुपर्नेमा जोड दिएका छन्।

भय, त्रास र धम्कीको राजनीतिले नागरिकको विश्वास जित्न नसकिने उल्लेख गर्दै उनले सरकारलाई आलोचनात्मक आवाजप्रति सहिष्णु बन्न, संविधानको मर्मअनुसार शासन सञ्चालन गर्न र नागरिकले उठाएका प्रश्नको स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।

लोकतन्त्रमा प्रश्न उठाउने र खबरदारी गर्ने अधिकार प्रतिपक्षको हुने भएकाले सरकारको जवाफदेहिता सुनिश्चित गर्नु र असहमतिका आवाजको रक्षा गर्नु नै लोकतान्त्रिक शासनको वास्तविक परीक्षा भएको भन्दै भट्टले यस परीक्षामा बालेन नेतृत्वको सरकार कमजोर र असफल देखिएको औंल्याएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *