बुढानीलकण्ठ मन्दिर आसपासका अतिक्रमित संरचनामा डोजर चल्यो

डिसी नेपाल
१८ कार्तिक २०८३ २०:०८

काठमाडौं। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध बुढानीलकण्ठ मन्दिर आसपास अतिक्रमण गरी बनाइएका अवैध संरचनामा आज (बुधबार) डोजर चलाएर हटाउन थालिएको छ। तोकिएको समयसीमाभित्र अतिक्रमणकारीहरूले आफैँ संरचना नहटाएपछि स्थानीय प्रशासनले डोजर प्रयोग गरी धेरैजसो अवैध संरचनाहरू हटाएको छ।

सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण गरी मन्दिर परिसर वरिपरि बनाइएका स्थायी तथा अस्थायी घरटहरा र पसलहरूबारे सर्वोच्च अदालतले हटाउन स्पष्ट आदेश दिएको थियो। सर्वोच्चको उक्त आदेश र कानुनी प्रक्रियालाई पालना गर्दै मन्दिर क्षेत्रको सौन्दर्यकरण तथा सार्वजनिक जग्गाको संरक्षणका लागि यो कदम चालिएको हो।

बुढानीलकण्ठ मन्दिरका महन्त १००८ स्वामी निगमानन्दका अनुसार सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै मन्दिर परिसरको पवित्रता र सुरक्षा कायम राख्न बुधबार बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरेर अतिक्रमित संरचनाहरू हटाउने काम भएकाे हाे। उनले मन्दिरको ऐतिहासीक गरिमा, धार्मिक वातावरण र सौन्दर्य जोगाउन धेरै संरचनाहरू हटाइएको जानकारी दिए।

डोजर सञ्चालनका क्रममा हुन सक्ने सम्भावित विरोध वा अवरोधलाई मध्यनजर गर्दै मन्दिर आसपासको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियाे।

गुठी तथा सार्वजनिक जग्गा व्यक्तिगत प्रयोजनका लागि ओगट्दा दर्शनार्थीहरूको सहज आवागमनमा अवरोध हुनुका साथै मन्दिर क्षेत्रमा अस्तव्यस्तता बढेको थियो। अतिक्रमित संरचनाहरू हटाइसकेपछि मन्दिर परिसरको गुरुयोजना अनुसार सौन्दर्यकरण, फराकिलो पैदल मार्ग र दर्शनार्थीका लागि व्यवस्थित पूर्वाधार निर्माण गरिने सम्बन्धित निकायले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *