प्रहरी नेतृत्व हेरफेरमा राजनीतिक हस्तक्षेप नगर्न नागरिक समूहको चेतावनी

डिसी नेपाल
१८ कार्तिक २०८३ २०:५५

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर डा. मनोज केसीलाई नयाँ नेतृत्व सुम्पने सरकारको निर्णयप्रति विभिन्न नागरिक समाजले गम्भीर आपत्ति जनाएका छन्। नागरिक समूहले प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थअनुसार सञ्चालन गर्ने प्रवृत्ति बन्द गर्न कडा चेतावनी दिँदै नेतृत्व परिवर्तनको आधार र औचित्य तत्काल सार्वजनिक गर्न माग गरेको छ।

नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालद्वारा जारी विज्ञप्तिमा प्रहरी सङ्गठन कुनै पनि प्रधानमन्त्री वा गृहमन्त्रीको निजी सम्पत्ति नभएको स्पष्ट पारिएको छ। सुरक्षा निकायको नेतृत्व चयन गर्दा व्यक्तिगत वा दलीय स्वार्थभन्दा कानुन, विधि र संस्थागत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखिनुपर्ने समूहको जोड छ।

सरकार फेरबदलपिच्छे सुरक्षा निकायको नेतृत्व बदल्ने परिपाटी लोकतान्त्रिक शासन व्यवस्थाको मूल मर्मविपरीत रहेको विज्ञप्तिमा औंल्याइएको छ। यस्तो प्रकारको राजनीतिक हस्तक्षेपले प्रहरी कर्मचारीको उच्च मनोबल, व्यावसायिक भविष्य र निष्पक्ष अनुसन्धानमा गम्भीर असर पार्ने चेतावनी दिँदै समूहले नेतृत्व हेरफेरमा अपनाइएको कानुनी तथा प्रशासनिक प्रक्रियाबारे पारदर्शी रूपमा जानकारी गराउन आग्रह गरेको छ।

साथै, नेपाल प्रहरीको व्यावसायिक स्वायत्तता पूर्ण रूपमा कायम राख्न र राज्यका संवेदनशील निकायलाई राजनीतिक नेतृत्वको निजी इच्छा तथा सनकका भरमा सञ्चालन गर्ने गलत अभ्यासको अन्त्य गर्न सरकारसँग जोडदार माग गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *