गगन थापा पक्राउको चर्चाबीच नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

डिसी नेपाल
१९ कार्तिक २०८३ ११:१२

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्ने चर्चा चलेसँगै उत्पन्न राजनीतिक परिस्थिति र सरकारको रवैयाबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारीको अनौपचारिक बैठक बोलाएको छ।

पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने भनिएको यो बैठकमा हालै सार्वजनिक भएको विवादित अडियो रेकर्ड र सरकारले चालेका कदमहरूबारे विस्तृत समीक्षा हुने बताइएको छ।

विचौलिया इमन सापकोटाले विशेष महाधिवेशनमार्फत आएको नेतृत्वलाई १८ करोड रूपैयाँ दिएर आधिकारिकता दिलाउन लगाएको दाबीसहितको अडियो सार्वजनिक भएपछि राजनीति तातेको छ। कांग्रेसले यो अडियो पूर्ण रूपमा कपोकल्पित र आधारहीन रहेको बताउँदै आएको छ।

यसअघि नै कांग्रेसले ६ बुँदे खण्डन सार्वजनिक गरिसकेको छ भने बुधबार वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमार्फत पैसा दिएर आधिकारिकता प्राप्त गरेको कुरा पुष्टि गर्न खुला चुनौती दिएका थिए।

कांग्रेस महामन्त्री डिला संग्रौलाले कुनै व्यक्तिलाई कोठाभित्र राखेर बयान लिएर सरकारले नियतवश कपोकल्पित अडियो रेकर्ड गर्न लगाएको आरोप लगाएकी छिन्। सरकार कांग्रेस र अन्य दलहरूप्रति पनि राजनीतिक षड्यन्त्रमा लागेको उनको दाबी छ।

वर्तमान विकसित राजनीतिक घटनाक्रम, सभापति थापाको पक्राउको चर्चा र सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा आजको सानेपा बैठकले महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *