विवादास्पद अडियो प्रकरण: निष्पक्ष छानबिनका लागि तयार छु, मेरो हातमा कुनै दाग छैन : गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकरणमा आफ्नो नाम जोडिएपछि पार्टी र आफू जुनसुकै निष्पक्ष छानबिनका लागि तयार रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफू कुनै पनि किसिमका गलत तथा अनैतिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पार्दै आफ्नो नैतिकतामाथि प्रश्न उठाउने कुनै आधार नरहेको दाबी गरेका छन्।
प्रहरी हिरासतमा रहेका भनिएका इनम सापकोटासँगको जोडिएको भनिएको अडियो र त्यसमा उठाइएका विषयहरूसँग आफ्नो कुनै पनि किसिमको सम्बन्ध नरहेको उनको भनाइ छ।
अडियो कहाँ, कसले, कहिले र किन निकाल्यो भन्ने कुरा पूर्ण रूपमा अनुसन्धानको विषय भएको बताउँदै उनले यसको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। ‘दूधको दूध पानीको पानी छुटिनुपर्छ,’ उनले भनेका छन्।
सभापति थापाले कांग्रेसको आधिकारिकता र पार्टीको आन्तरिक रूपान्तरणका लागि भएको संघर्ष पूर्ण रूपमा वैचारिक र सैद्धान्तिक भएको र त्यसमा कुनै पनि किसिमको आर्थिक लेनदेन नभएको प्रस्ट पारेका छन्।
उक्त संघर्षलाई कार्यकर्ताहरूको वास्तविक विद्रोहको संज्ञा दिँदै उनले त्यसमा करोडौँ रुपैयाँको लेनदेन भएको भन्ने आरोप पूर्ण रूपमा निराधार र कपोलकल्पित भएको बताए। महामन्त्री विश्वप्रकाश शर्माले यसअघि नै पार्टी कार्यालयबाट यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले अडियोको स्रोत र उद्देश्यमाथि समेत प्रश्न उठाएका छन्।
अडियो सार्वजनिक भएपछि आफू डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्न गएको भन्ने विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चलेको चर्चालाई खारेज गर्दै उनले आफू कहिल्यै नतर्सिने र नझुक्ने बताए।
‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै छैन,’ उनले दृढताका साथ भनेका छन्। बिचौलिया भनिएका व्यक्तिहरूसँग जोडेर कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूलाई राजनीतिक रूपमा बदनाम गर्ने षड्यन्त्र भएको उनको ठहर छ।
आफू सधैँ स्वच्छ राजनीतिमा विश्वास गर्ने र विगतमा आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा समेत गलत कामको खुलेर विरोध गरेको स्मरण गर्दै उनले भने, ‘म आज मात्र होइन, योभन्दा बलियो सत्ता भएको समयमा समेत गलत कुराको विरुद्धमा लड्दै आएको छु। मेरो स्वच्छता र इमानदारीमा सम्झौता भएको भए बोल्ने आँट आउँदैनथ्यो।’
पटक-पटक विभिन्न राजनीतिक चुनौती र विवादहरूको सामना गर्दै यहाँसम्म आइपुगेको बताउँदै उनले कार्यकर्ताहरूलाई कुनै भ्रममा नपर्न र ढुक्क भएर आफ्नो पक्षमा उभिन आग्रह गरेका छन्।
‘म गगन थापा, तपाईंको दाइ, भाइ, साथी र सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन,’ उनले थपे, ‘कार्यकर्ताहरूको शुभेच्छा र मेरो आफ्नै ‘मोरल स्ट्रेन्थ’ (नैतिक बल) का कारण नै म सधैँ यसरी उभिन सकेको छु।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment