नेपाली कांग्रेस निष्पक्ष छानबिनका लागि तयार, प्रतिशोधपूर्ण कदम चालिए सशक्त प्रतिकार गर्ने चेतावनी
काठमाडौं। नेपाली कांग्रेसले पार्टी र शीर्ष नेतृत्वविरुद्ध सुनियोजित रूपमा दुष्प्रचार गरी पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको निष्कर्ष निकाल्दै निष्पक्ष छानबिनका लागि आफूहरू तयार रहेको जनाएको छ।
बिहीबार पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको संयुक्त बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री प्रकाश रसाइलीले सत्ता र राज्य समर्थित केही व्यक्तिहरू संलग्न भई कांग्रेसविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गरिरहेको आरोप लगाए।
“नेपाली कांग्रेस र पार्टी नेतृत्वविरुद्ध भइरहेको खराब प्रचार तथा षड्यन्त्रबारे जस्तोसुकै छानबिनका लागि पनि हाम्रो पार्टी र नेतृत्व तयार छ,” सहमहामन्त्री रसाइलीले भने, “तर, जुनसुकै छानबिन पनि तथ्य र प्रमाणका आधारमा हुनुपर्छ। बिना प्रमाण पूर्वाग्रही र प्रतिशोधपूर्ण ढङ्गले गरिने कदमलाई हामी कदापि स्वीकार गर्दैनौँ।”
छानबिन सत्यतथ्य र प्रमाणमा आधारित भएमा कांग्रेसले पूर्ण सहयोग गर्ने स्पष्ट पार्दै उनले प्रतिशोध साँध्ने नियत राखिए संसद्, संसदीय समिति र सडकबाटै सशक्त प्रतिकार र प्रतिवाद गर्ने चेतावनी दिए। सांसदहरूसँगको छलफलमा यस विषयलाई प्रतिनिधिसभा र संसदीय समितिहरूमा कसरी सशक्त रूपमा उठाउने भन्नेबारे रणनीति तय गरिएको उनले जानकारी दिए।
यसैबिच, बैठकमा भोटेकोशी क्षेत्रमा बाढी तथा पहिरोका कारण दसैँका बेला प्रभावित भएका नागरिकहरूको नाजुक अवस्थाबारे पनि गम्भीर छलफल भएको छ।
प्रभावित नागरिकहरू गास, बास र कपासको समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै सहमहामन्त्री रसाइलीले उनीहरूको अवस्था बुझ्न र आवश्यक सहयोग पुर्याउन स्थानीय जनप्रतिनिधि तथा सांसदहरूलाई पार्टी कार्यालयमा बोलाइएको बताए। दसैँको समयमा पीडामा परेका नागरिकलाई पार्टीका तर्फबाट सम्भव भएसम्मको राहत र सहयोग उपलब्ध गराइने कांग्रेसले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment