कामको पारिश्रमिक नपाएपछि मजदुरको आत्मदाह प्रयास, तिहारपछि आमरण अनसन बस्ने चेतावनी
खोटाङ । बिकेयसके कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक तथा खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राई र अर्का सञ्चालक सरोज राईले काम गरेको पारिश्रमिक नदिएको भन्दै पीडित दिनेश थापाले गृहमन्त्रालयसहित विभिन्न निकायमा उजुरी दिएका छन्। पटकपटक भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि पछिल्लो समयमा दुवै जनाले रकम दिन आलटाल, धाकधम्की र श्रम शोषण गरेको थापाको आरोप छ।
गाउँपालिका उपाध्यक्ष रुपेश राईले आफू सार्वजनिक पदमा रहेकाले देखिन नमिल्ने भन्दै अर्का सञ्चालक सरोजमार्फत सम्झौता गराएर काम सम्पन्न गराएको तर पारिश्रमिक माग्दा धम्क्याउने गरेको थापाले बताए। गाउँपालिकामा न्यायिक निरूपणका लागि निवेदन दर्ता गर्न खोज्दा दर्ता नभएपछि उत्पन्न विवादका क्रममा आफूले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्दासमेत आफन्तले बचाएको उनले जानकारी दिए। गृहमन्त्रालयले समस्या समाधानका लागि खोटाङ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए पनि प्रमुख जिल्ला अधिकारी (सिडियो) उपाध्यक्षकै पक्षमा लागेको उनको आरोप छ।
थापाका अनुसार कुल कमाईको १ प्रतिशत सामाजिक सुरक्षा कोषका लागि काटिए पनि बिल नदिएको, आधिकारिक मापन नदिएको, बसोबासको व्यवस्थापन नगरेको र श्रम ऐनको उल्लङ्घन गर्दै दुर्घटना बिमा मजदुर आफैँले व्यहोर्ने कागज गराइएको छ। साथै, बिकेयसके कम्पनी असक्षम भएपछि विवश कन्ट्रक्सनलाई टेन्डर हाल्न लगाएर बिचमा बदमासी गरिएकोसमेत उनले दाबी गरे।
आफ्नो पसिनाको कमाई उपलब्ध गराउन, घटनाको निष्पक्ष छानबिन गर्न र सार्वजनिक पदको दुरुपयोगबारे अनुसन्धान गर्न माग गर्दै थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, श्रम कार्यालय र राष्ट्रिय सूचना आयोगमा समेत निवेदन दिएका छन्। तत्काल माग सम्बोधन नभए तिहारपछि जिल्ला प्रशासन कार्यालय खोटाङ अगाडि आमरण अनसन बस्ने चेतावनी उनले दिएका छन्।
यस विषयमा राष्ट्रिय जेनजी नागरिक अभियानका प्रवक्ता विर्जन विश्वकर्माले मजदुरहरूको पारिश्रमिक तत्काल उपलब्ध गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।
उता, खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडियो) महेश कुमार गुरुङले गृहमन्त्रालयबाट प्राप्त पत्र ओखलढुङ्गा जिल्लासँग सम्बन्धित भएकाले उतै पठाइसकिएको र तिहारपछि समस्या समाधान गर्ने कुरा भएको बताएका छन्। प्रमाणसहित उपाध्यक्ष रुपेश राईविरुद्ध उजुरी आए कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै उनले हालसम्म कुनै लिखित उजुरी नपरेको दाबी गरे।
यता बिकेयसकेका सञ्चालक सरोज राईले भने सम्झौताअनुसारको सबै रकम भुक्तानी गरिसकेको दाबी गर्दै थापाले अनावश्यक तनाव दिइरहेको बताएका छन्। अर्का सञ्चालक तथा खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राईसँग भने सम्पर्क हुन सकेन।
No ads found for this position



डिसी नेपाल
Facebook Comment