बूढानीलकण्ठ मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुँदै

डिसी नेपाल
२० कार्तिक २०८३ ७:५४

काठमाडौँ। ऐतिहासिक तथा धार्मिक तीर्थस्थल बूढानीलकण्ठ मन्दिर परिसरमा हरिबोधिनी एकादशी मेलाको पावन अवसर पारेर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। ‘ॐ नमो भगवते वासुदेवाय’ भन्ने मूल मन्त्रसहित यही २०८३ साल मंसिर २ गतेदेखि ८ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ।

बूढानीलकण्ठ मन्दिर दशनामी मठका मठाधीश  १००८ स्वामी निगमानन्द गिरिजी महाराजको सत्संकल्प एवं संरक्षणमा हुन लागेको महायज्ञमा प्रखर भागवत प्रवक्ता  पण्डित विपिनकृष्ण शास्त्रीबाट प्रमुख भागवत वाचन तथा प्रखर वक्ता आचार्य पं.  ईश्वर रिजालबाट प्रवचन हुने आयोजकले जनाएको छ। सङ्गीतमय शैलीमा सञ्चालन हुने सप्ताह ज्ञान महायज्ञमा सहभागी भई कथा श्रवण तथा सत्सङ्गबाट पुण्य आर्जन गर्न आयोजकले भक्तजनमा निमन्त्रणा गरेको छ।

महायज्ञ अवधिभर दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म भागवत कथा वाचन तथा प्रवचन हुनेछ। मंसिर २ गते बिहान ६:४५ बजे मन्दिर परिसरबाट भव्य कलश यात्रा निकालिनेछ।

धार्मिक आस्था, आध्यात्मिक चेतना, सामाजिक सद्भाव र सांस्कृतिक परम्पराको संरक्षण प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महायज्ञका लागि विभिन्न समितिहरू गठन गरिएका छन्। महायज्ञ मूल समारोह समितिको संयोजकमा प्रमोद खड्का तथा बूढानीलकण्ठ मेला सञ्चालन मूल समारोह समितिको अध्यक्षमा इन्द्रबहादुर थापा रहेका छन्।

त्यसैगरी, बूढानीलकण्ठ मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा इन्द्रबहादुर थापा, सचिवमा नवराज भण्डारी र कोषाध्यक्षमा तारा कुमारी देवजा रहेका छन्। मेलालाई व्यवस्थित बनाउन धार्मिक, यातायात, सुरक्षा, बजार, स्वास्थ्य, स्वयंसेवक, प्रचार-प्रसार तथा सरसफाइजस्ता विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ।

कार्यक्रम विवरण:

  • आयोजना: श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

  • मिति: २०८३ मंसिर २ देखि ८ गतेसम्म

  • स्थान: बूढानीलकण्ठ मन्दिर परिसर, काठमाडौँ

  • कलश यात्रा: मंसिर २ गते बिहान ६:४५ बजे

  • दैनिक कथा वाचन: बिहान ८:०० देखि बेलुका ५:०० बजेसम्म

  • संरक्षक एवं सत्सङ्कल्पकर्ता: श्री १००८ स्वामी निगमानन्द गिरिजी महाराज

  • प्रमुख भागवत वाचक: पं. श्री विपिनकृष्ण शास्त्री

  • प्रवचनकर्ता: आचार्य पं. श्री ईश्वर रिजाल

आयोजकले महायज्ञमा सहभागी भई कथा श्रवण तथा सत्सङ्ग लाभ लिन सम्पूर्ण धर्मानुरागी तथा श्रद्धालु भक्तजनमा हार्दिक अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *