उदयपुरका २७ भूमिहीन दलित परिवारले पाए जग्गाधनी लालपुर्जा
काठमाडाैं। त्रियुगा नगरपालिकाका २७ भूमिहीन दलित परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्। नगरपालिकाको वडा नम्बर ३ र वडा नम्बर ५ का २७ परिवारलाई बिहीबार एक औपचारिक कार्यक्रमका बिच लालपुर्जा वितरण गरिएको हो।
त्रियुगा नगरपालिकाको कार्यालयमा आयोजना गरिएको समारोहमा प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले ती भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा हस्तान्तरण गर्नुभएको थियो।
सुरुवाती वा पहिलो चरण अन्तर्गत त्रियुगा नगरपालिका-३ का १३ परिवार र वडा नम्बर ५ का १४ परिवार गरी जम्मा २७ भूमिहीन दलित परिवारलाई पुर्जा प्रदान गरिएको छ।
जिल्ला भूमि आयोग उदयपुरमार्फत कानुनी प्रक्रिया पूरा गरेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिलाउने उद्देश्यले लालपुर्जा वितरण गरिएको जानकारी त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले दिए।
लामो समयदेखि जग्गाको आधिकारिक स्वामित्वबाट वञ्चित रहँदै आएका स्थानीय बासिन्दाले लालपुर्जा पाएपछि आफ्नो जग्गामा पूर्ण रूपमा कानुनी अधिकार प्राप्त गरेका छन्।
सरकारी लक्ष्य र नीति अनुसार नै जिल्लामा पुर्जा वितरणको कार्यलाई तीव्रताका साथ अघि बढाइएको जिल्ला भूमि आयोग उदयपुरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए।
जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अन्तर्गत सम्बन्धित स्थानीय तहले सुरुमा जग्गाको नापजाँच गरी आवश्यक सम्पूर्ण कागजात तयार पार्ने काम गर्दछन्। त्यसपश्चात् आयोगले प्राप्त कागजातहरूको सुक्ष्म अध्ययन तथा कानुनी प्रक्रिया पूरा गरी अन्तिम स्वीकृति दिएपछि मात्र जग्गाधनी पुर्जा वितरण गर्ने गरिन्छ।
प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार शुक्रबार कटारी नगरपालिकामा ११ घरपरिवारलाई र रौतामाई गाउँपालिका–७ मा ६५ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने गरी सम्पूर्ण तयारी पूरा भइसकेको छ। यसैगरी चौदण्डीगढी नगरपालिकामा ३२ घरपरिवार र बेलका नगरपालिकामा ४५ घरपरिवारका लागि लालपुर्जा वितरणको काम तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।
लालपुर्जा तयार भइसकेका सम्बन्धित पालिकाहरूलाई वितरण प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको र अन्य पालिकाहरूबाट कानुनी प्रक्रिया पूरा भई आएका कागजातहरूको पनि तीव्र रूपमा अध्ययन भइरहेको प्रजिअ शाहीले बताए।
जिल्ला भूमि आयोगका अनुसार उदयपुरका विभिन्न स्थानीय तहहरूमा हाल लालपुर्जा वितरणको काम द्रुत गतिमा अघि बढिरहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा भएका बाँकी सम्पूर्ण परिवारलाई पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गर्दै जाने योजना आयोगले बनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment