ग्लोबल आइएमई बैंकद्वारा काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

डिसी नेपाल
२० कार्तिक २०८३ १८:४९

काठमाडाैं। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माण कार्य अघि बढाएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले निर्माणस्थलमा आयोजित विशेष समारोहबीच विधिपूर्वक भूमिपूजा गरी भवन निर्माणको औपचारिक थालनी गरेका हुन्।

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा बन्ने यो भवन कुल १२ तलाको हुनेछ। जसमा पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन्। वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र प्रविधिको उच्च प्रयोग गरी निर्माण हुने यो भवन उपत्यकाकै नमुना व्यावसायिक भवन हुनेछ।

भूमिपूजापछि अध्यक्ष ढकालले यो कर्पोरेट कार्यालय वाणिज्य बैंकहरूमध्ये सबैभन्दा आधुनिक र ठूलो हुने बताउँदै यसबाट सेवाग्राहीलाई थप सहज, प्रविधिमैत्री र प्रभावकारी सेवा प्रदान गर्न टेवा पुग्ने जनाए।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले भवनमा ऊर्जा बचत प्रणाली, आकाशे पानी सङ्कलन तथा प्रशोधन र सौर्य ऊर्जा (सोलार) जडानजस्ता पक्षलाई प्राथमिकता दिइएको उल्लेख गरे।

देशका सबै ७७ जिल्लामा सञ्जाल फैलिएको पहिलो निजी क्षेत्रको यस वाणिज्य बैंकले हाल एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। उत्कृष्ट कार्यसम्पादनका लागि बैंकले ‘बेष्ट बैंक नेपाल’ र ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ लगायतका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *