हिमाली जिल्लामा नुनको मूल्य महँगो हुनुमा सडक अभाव मुख्य कारण : गृहमन्त्री गुरुङ

डिसी नेपाल
२१ कार्तिक २०८३ १७:२४

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले हिमाली जिल्लामा सडक सञ्जालको अभावका कारण नुनलगायत दैनिक उपभोग्य वस्तु महँगो पर्ने गरेको बताएका छन्।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुभकामना आदानप्रदान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिमाली क्षेत्रका बासिन्दाले सडक सुविधा नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भोग्नुपरेको बताए।

उनले हिमाली जिल्लाका धेरै ठाउँमा सडक नपुगेका कारण मानिसले सामान बोकेर लैजानुपर्ने अवस्था रहेको उल्लेख गरे। यो समस्या कुनै एउटा जिल्लाको मात्र नभई मुस्ताङ, मुगुलगायतका हिमाली जिल्लाको साझा समस्या भएको उनको भनाइ थियो।

‘हिमाली जिल्लामा सबै ठाउँमा नुन सहज रूपमा उपलब्ध छैन। जहाँ गाउँ छन्, त्यहाँ बाटो छैन। पहिला बाटो बन्न समय लाग्छ, तर आपूर्ति त गर्नुप¥यो नि,’ उनले भने।

गुरुङले सडक सुविधा नहुँदा मुस्ताङमा विगतमा एउटा नुनको मूल्य दुई सयदेखि चार सय रुपैयाँसम्म पर्ने गरेको उदाहरण दिए। सडक निर्माण भएपछि ढुवानी सहज हुने र त्यसले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सहयोग पुग्ने उनले बताए।

‘मुगुमा त झन् बिजोग छ। यो नियति सरकारले परिवर्तन गर्छ,’ उनले भने।

उनले सरकारले हिमाली क्षेत्रका नागरिकको समस्या सम्बोधन गर्न बजेटसमेत छुट्याएको दाबी गरे। बजेट कार्यान्वयन हुन र त्यसको परिणाम देखिन समय लाग्ने भन्दै उनले केही समय धैर्य गर्न आग्रह गरे।

‘अहिले ६ महिनामै हामीले धेरै कुरा बाटो माथिसम्म पुर्‍याउन सक्छौँ भनेको छैनौँ। तर पहल गरेर बाटोमा बजेट हालेर काम अगाडि बढाउन सकिन्छ नि,’ उनले भने।

गुरुङले नुनको मूल्यको विषयलाई मात्रै नभई समग्र हिमाली क्षेत्रका नागरिकले भोग्दै आएका समस्या समाधान गर्न सरकार केन्द्रित रहेको बताए। प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू हिमाली क्षेत्रका नागरिकको दुःख सम्बोधन गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो।

सडक सञ्जाल विस्तारसँगै हिमाली क्षेत्रका नागरिकले भोग्दै आएको ढुवानी तथा दैनिक उपभोग्य वस्तुको महँगीसम्बन्धी समस्या क्रमशः समाधान हुने उनले विश्वास व्यक्त गरे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *