जेहेन्दार विद्यार्थीका लागि ५० लाखको अक्षयकोष स्थापना

डिसी नेपाल
३० असोज २०७६ ९:१४

कावासोती । समाजसेवी भोजराज दाहालले आफ्ना बुबाआमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । बुबा स्वः देवीलाल दाहाल र आमा स्व रमादेवी दाहालको स्मृतिमा कावासोती–८ स्थित ज्ञानोदय माध्यामिक विद्यालयमा उनले रु ५० लाख बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज गुरुङलाई बुधबार समाजसेवी दाहालले रु एक लाख ५० हजार प्रदान गरी अक्षयकोष स्थापनाको शुरुआत गरेका छन् ।

कावासोती नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत गरीब विपन्न, जेहेन्दार तथा अल्पसङ्ख्यक विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको र यसको शुरुआत भएको समाजसेवी दाहालले बताए ।

“नगरभित्रका कोही पनि बालबालिका आर्थिक अभावकै कारणले पढाइबाट बञ्चित हुन नपरोस् भनेर अक्षयकोष निर्माण गर्न लागिएको हो”, दाहालले भने, “यसले सबैका लागि शिक्षा भन्ने नारालाई सार्थक तुल्याउने विश्वास लिएको छु।”

कावासोती नगरपालिकाभित्र रहेका १६ माध्यामिक र २६ आधारभूत तहका विद्यालय गरी कूल ४२ सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिने समाजसेवी दाहालले बताए ।

आधारभूत तहमा रु एक लाख र माध्यामिक तहका विद्यालयमा रु एक लाख ५० हजारका दरले गरी कूल रु ५० लाखको अक्षयकोष स्थापना गरिने उनले बताए ।

नगरपालिकाभित्र रहेका सबै विद्यालयमा शैक्षिकसत्र विसं २०७७ सम्ममा अक्षयकोष स्थापना गरिसक्ने उनले दाबी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *