मुस्ताङको चराङमा विमानस्थल निर्माण गरिने

डिसी नेपाल
११ कार्तिक २०७६ २३:४३

काठमाडौं। सरकारले मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माण गर्ने भएको छ । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर चराङमा विमानस्थल बनाउने तयारी भएको हो ।

एक वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राविधिकहरुको टोलीले विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज प्रस्तावित विमानस्थल निर्माण गरिने ठाउँको निरीक्षण गरेका छन् ।

मन्त्री भट्टराईले प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनको आधारमा विमानस्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर कार्यान्वयनमा लैजाने बताए । डिपिआर बनाउन प्राविधिक टोली पठाउने जानकारी दिए । “अनुकूल भूगोल र पर्याप्त जग्गा भएका आधारमा चराङमा विमानस्थल निर्माण गर्न सकिने प्राविधिक टोलीको सुझाव छ”, मन्त्री भट्टराईले भने, “दामोदर कुण्डमा भक्तजन, उपल्लो मुस्ताङमा पर्यटक भित्र्याउन तथा स्थानीय वासिन्दाको जनजीवनलाई सहज बनाउन विमानस्थलले सहयोग पुर्याउनेछ ।”

समुद्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा करीब तीन हजार रोपनी समथर जमीनमा विमानस्थल बनाउन प्रस्ताव गरिएको दामोदर कुण्ड ल्यो घ्यकर गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए ।

“छोटो समयका लागि भ्रमणमा आउने विशिष्ट पर्यटक र स्थानीयवासीको सुविधाका लागि विमानस्थल निर्माण गर्न पहल गरिएको हो”, विष्टले भने, “जोमसोम हुँदै उपल्लो मुस्ताङ भ्रमणमा जान धेरै समय लाग्ने र सडक यातायातको सहज सुविधा नभएकाले पर्यटकहरुलाई समस्या भएको छ ।” कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, प्रदेश सांसद इन्द्रधारा विष्ट, चन्द्रमोहन गौचनलगायत जनप्रतिनिधि र स्थानीय अगुवाहरुको उपस्थिति थियो ।

यसैगरी मन्त्री भट्टराईले दामोदर कुण्ड ल्यो घ्यकर गाउँपालिका–२ मा सञ्चालित मराङ सामुदायिक घरवासको पनि आज उद्घाटन गरे । मराङको पाँच घरमा घरवास सञ्चालन भएको छ ।

मन्त्री भट्टराईले हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा भएका पूर्वाधार निर्माणका कामको निरीक्षण र सरोकारवालाहरुसँग छलफल गरेका थिए । मुक्तिनाथ मन्दिरको गुरुयोजनाअनुसार पुरातत्व विभागसँगको समन्वयमा विभिन्न पूर्वाधार निर्माण भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *