प्रधानमन्त्री ग्राण्डी अस्पतालको आइसीयूमा

डिसी नेपाल
१३ कार्तिक २०७६ १३:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गरिएको छ । अस्पतालमा उनको विभिन्न परीक्षण र उपचार भइरहेको अनौपचारिक जानकारी बाहिरिए पनि यसको पुष्टि भने हुन सकेको छैन । अस्पतालले भने यस विषयमा कुनै जानकारी दिएको छैन ।

अस्पताललाई यस विषयमा सोध्दा ‘प्रधानमन्त्रीको सचिवालयले औपचारिक जानकारी दिन आग्रह नगरेसम्म यस विषयमा अस्पतालले केही भन्न नमिल्ने’ जवाफ आएको अस्पताल निर्देशक डा. चक्रराज पाण्डेलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ । डा. पाण्डेले प्रधानमन्त्री अस्पताल भनाइ भएको समेत पुष्टि गर्न नमानेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल पुगेको बताएका छन् । प्रधानमन्त्री यसअघि स्वास्थ्य परीक्षणका लागि सिंगापुर समेत गएका थिए । साउनमा सैनिक अस्पताल छाउनीमा भएको परीक्षणमा प्राप्त रिपोर्टका आधारमा उनलाई सिंगापुर लगिएको थियो ।

प्रधानमन्त्री मिर्गौला रोगी हुन् । १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि विभिन्न समयमा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनी नियमित स्वास्थ्य परीक्षणका लागि बेलाबेलामा दिल्ली, थाइल्याण्ड र सिंगापुर गइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *