यू–१९ टिम इरान जाँदै

डिसी नेपाल
१८ कार्तिक २०७६ १८:४६

काठमाडौं । इरानमा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार इरान जाने नेपाली टोलीको विदाई गरेको हो । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले विदाई गरे ।

छनोट बुधबारबाट सुरु हुनेछ । नेपाल समूह ’डी’ मा रहेको छ । नेपालको समूहमा आयोजक इरान,युएई र किर्गिस्तान रहेको छन् । नेपालले नोभेम्बर ६ (बुधबार) युएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेल घरेलु टोली इरानसँग ८ नोभेम्बर र अन्तिम खेलमा १० नोभेम्बरमा किर्गिस्तानको सामना गर्नेछ । समूहको शीर्ष टोलीले फाइनल चरणमा स्थान बनाउने छन् । छनोटका लागि मुख्य प्रशिक्षक मेघ राज केसीले शनिबार २३ सदस्सीय टिमको घोषणा गरेका थिए ।

प्रशिक्षक केसीले टिमका मुख्य खेलाडी मानिएका व्रिजेश चौधरी, राष्ट्रिय टिमको क्लोज क्याममा समेत रहिसकेको नितिन थापा तथा शिशिर लेखीलाई टिमबाट बाहिर राखेका छन् ।

नेपाली टिममा गोलकिपरको भूमिकामा विशाल सुनार, रोहित कार्की र पुजन होना रहेका छन् । यस्तै डिफेन्डरमा बिशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ र निराजन महर्जन रहेका छन् ।

यस्तै मिडफिल्डरमा दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन र दिनेश हेम्जन रहेका छन् । फरवार्डमा मनिष डाँगी, राजिव लोप्चन, रेजिन शुब्बा, दिपेश आले मगर रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *