पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

डिसी नेपाल
२१ कार्तिक २०८३ ८:४१

वीरगञ्ज (पर्सा)। सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ नेपाल टेलिकमले सेवाग्राहीकै घरमा सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ।

हुलाक सेवामार्फत पर्सा जिल्लाभरका सेवाग्राहीको घरदैलोमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ।

नागरिकलाई सहज रूपमा घरमै सेवा उपलब्ध गराउन यो वितरण प्रक्रिया सुरु गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवले जानकारी दिए। उनका अनुसार नेपाल टेलिकमको अनलाइन फाराम भरेपछि सेवाग्राहीले हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्नेछन्।

यो सेवाको सुरुवातसँगै सिमकार्ड लिन टेलिकम कार्यालय वा अन्य वितरण केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेको यादवको भनाइ छ। अब नागरिकले घरमै बसेर यो सरकारी सेवा प्राप्त गर्न सक्नेछन्। सेवा सुरु भएसँगै हुलाक कार्यालयका कर्मचारीले वीरगञ्ज महानगरपालिका–१० रानीघाट निवासी किरणकुमारी चौहानको घरमा पुगेर पहिलोपटक सिमकार्ड हस्तान्तरण गरेका छन्।

हुलाक सेवा विभाग पर्साले अहिलेसम्म चिठीपत्र, पार्सल, द्रुत डाँक सेवा (ईएमएस) र हुलाक बचत बैंकसम्बन्धी सेवाहरू मात्रै प्रदान गर्दै आएको थियो।

यसैगरी हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको नयाँ सम्झौताअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लगायतका महत्त्वपूर्ण सरकारी कागजातहरू हुलाकमार्फत ढुवानी तथा वितरण गर्ने कार्य पनि हुँदै आएको छ।

विभागले हुलाक वस्तु तथा पार्सलहरू कहाँ पुगे भनेर अनलाइनबाटै हेर्न मिल्ने गरी ट्र्याकिङ प्रणालीलाई समेत थप व्यवस्थित बनाएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *