नयाँ प्रदेश प्रमुख नियुक्ती प्रति उपेन्द्र यादव नरम !

डिसी नेपाल
१९ कार्तिक २०७६ १०:५९

काठमाडौं। सरकारले आइतबार सातवटै प्रदेशका प्रमुखलाई पद मुक्त गर्यो। त्यसको भोलिपल्टै सातवटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भए। नयाँ प्रमुख प्रमुख नियुक्ती हुँदा आफ्ना मानिस नपरेको भन्दै नेकपा वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेख्ने चेतावनी दिँदा सरकारमा सहभागी भएको समाजवादी पार्टीले भने औपचारिक रुपमा नयाँ प्रदेश प्रमुख नियुक्तीका विषयमा कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन।

समाजवादी पार्टी सरकारमा सहभागी भएका कारण वर्तमान सरकार दुई तिहाइ बहुमतको बन्न पुगेको हो। तर दुई तिहाइ बहुमत पुर्याउन सहयोग गरेको समाजवादी पार्टीसँग कुनै पनि सल्लाह नगरी प्रधानमन्त्री केपी ओलीले सात वटा प्रदेश प्रमुख नियुक्त गरेको भन्दै समाजवादी पार्टीभित्र असन्तुष्टि फैलिएपनि अहिलेसम्म औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा तेस्रो बरियताका उपप्रधानमन्त्री हुन्। तर नयाँ प्रदेश प्रमुख नियुक्ती गर्दा प्रधानमन्त्री ओलीले यादव र उनको दल समाजवादी पार्टीसँग कुनै सल्लाह नगरेको समाजवादी पार्टीमा महासचिव रामसहाय यादवले बताए।

अहिले समाजवादी पार्टी आफैं सरकारमा सहभागी हुँदा आफ्नो भागमा नियुक्त भएका प्रदेश प्रमुखलाई जोगाउन त सकेन नै आफ्नो कोटाबाट कसैलाई पनि प्रदेश प्रमुख बनाउन पनि सकेन।

‘सात प्रदेशका प्रदेश प्रमुखलाई पद मुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा सत्ता साझेदार दल समाजावादी पार्टीसँग प्रधानमन्त्रीले कुनै छलफल गर्नु भएन,’ महासचिव यादवले डिसी नेपालसँग भने, ‘सात प्रदेशको प्रमुख नियुक्ती गर्दा प्रधानमन्त्रीले एकलौटी गर्नु भयो। यो विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्छ।’

यसअघि दुई नम्बर प्रदेशका प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ समाजवादी पार्टीका तर्फबाट प्रदेश प्रमुख बनेका थिए। तर अहिले समाजवादी पार्टी आफैं सरकारमा सहभागी हुँदा आफ्नो भागमा नियुक्त भएका प्रदेश प्रमुखलाई जोगाउन त सकेन नै आफ्नो कोटाबाट कसैलाई पनि प्रदेश प्रमुख बनाउन पनि सकेन।

समाजवादी पार्टीले कात्तिक २९/३० गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। त्यही बैठकबाट प्रदेश प्रमुख नियुक्तीका विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ।

पछिल्लो समय समाजवादी पार्टीलाई सरकारबाट बाहिरिन दबाव बढ्दै गएको छ। आफूसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट बाहिरिन दबाव आएपनि यो विषयमा पार्टीले निर्णय गर्नुपर्ने हुन्छ। विशेष गरी डा. बाबुराम भट्टराई पक्षधरले सरकारबाट बाहिरिनुपर्ने दबाव दिएपनि उपेन्द्र यादव तत्काल सरकारबाट बाहिरिने पक्षमा छैनन्।

‘जीवन्त पार्टी भएका कारण सबैका आफ्ना धारणा हुन्छन्, तर सरकारबाट बाहिरिने विषयमा पार्टीले निर्णय गर्ने कुरा हो। अहिलेसम्म पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छैन,’ महासचिव यादवले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *