नेपाल फलोअनमा पर्ने खतरा, २० ओभरमै पाँच विकेट गुमायो

डिसी नेपाल
२१ कार्तिक २०७६ १३:२०

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लवविरुद्ध फर्स्ट क्लास खेलमा नेपाल फलोअनमा पर्ने खतरा बढेको छ । एमसीसीले पहिलो इनिङमा ३६४ रन बनाएपछि त्यसलाई पच्छ्याउन थालेको नेपालले २० ओभरमा ३४ रनको स्कोर बनाउँदा नै ५ विकेट गुमाइसकेको छ । यदि आज नेपाल फलोअनमा परेमा नेपालले यो खेल हार्ने सम्भावना अत्यन्तै उच्च हुनेछ ।

पहिलो श्रेणीको खेल वा टेस्टमा पहिलो इनिङमा ब्याटिङ गर्ने टिमले बनाएको स्कोरभन्दा दोस्रो टिमको स्कोर २०० वा सोभन्दा बढी रनले पछि भएमा पहिलो टिमले दोस्रो टिमलाई फलो अनमा पठाउन पाउँछ । यसरी पहिलो टिमले दोस्रो टिमलाई फलो अनमा पठाएमा दोस्रो टिमले लगत्तै आफ्नो दोस्रो इनिङ ब्याटिङ थाल्नुपर्ने हुन्छ ।

यो खेलमा एमसीसीले पहिलो इनिङमा ३६४ रन बनाएकोले नेपाल फलो अनबाट बच्न कम्तीमा १६५ रनको स्कोर बनाउनुपर्ने हुन्छ । यदि नेपाल १६५ भन्दा कम स्कोरमै अलआउट भएमा एमसीसीले नेपाललाई फलोअन अनुसार फेरि ब्याटिङको लागि निम्त्याउन पाउँछ । यसरी नेपालले दोस्रो इनिङ खेल्न सुरु गरेपछि दुवै इनिङमा गरेर एमसीसीले बनाएको ३६४ रनभन्दा बढी स्कोर बनाउन नसकेमा स्वतः एक इनिङ र केही रनले हार्नेछ । यदि नेपालले ३६४ भन्दा धेरै बनाउन सकेमा नेपालले जति रन बढी बनाउँछ त्यो नै एमसीसीको लागि लक्ष्य हुनेछ जुन लक्ष्य न्यून हुने भएकोले एमसीसीले भेट्टाउन सक्छ ।

दोस्रो दिन एमसीसीलाई अलआउट गरेपछि ब्याटिङ थालेको नेपालले लञ्च ब्रेकअघि १८ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएसँगै धरायसी बनेको नेपाली ब्याटिङ सम्हाल्न आएका अर्का अनुभवी ब्याट्सम्यान शरद भेषावकर पनि ४ रनमा पेभेलियन फर्किए । यस्तै लन्च ब्रेक अघि ८ रन बनाएका राजु रिजालको रुपमा नेपालले तेस्रो विकेट पनि गुमायो । लञ्चपछि दिपेन्द्र सिंह ऐरी १ रनमा र आरिफ शेख १० रनमा आउट भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *