हरिबोधिनी एकादशीका अवसरमा पोखराका जलाशयमा भक्तजनको घुइँचो

डिसी नेपाल
२२ कार्तिक २०७६ १०:३२

पोखरा । हरिबोधिनी एकादशीका अवसरमा आज पोखरा र आसपासका नदी तथा जलाशय किनारमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

प्रत्येक वर्षको कात्तिक शुक्ल एकादशीका दिन आषाढ शुक्ल एकादशीदेखि क्षीर सागरमा सुतेका भगवान् विष्णु उठ्नु हुने विश्वासका आधारमा आजको दिनलाई हरिबोधिनी एकादशीका रूपमा लिने गरिएको हो।

आजको दिन नदी तथा जलाशयमा गई स्नान गरी भगवान् विष्णुको आराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ।

सोही विश्वासका कारण सेती नदी किनारका चिरगादी घाट, रामघाट, नारायणस्थान, लामगादी, दुलैगौंडा पुलचोक लगायतका स्थानमा भक्तजनको भीड लाग्ने गरेको स्थानीयवासी गुरुप्रसाद पौडेलले जानकारी दिए ।

धार्मिक धर्मग्रन्थहरूमा हरिबोधिनी एकादशीलाई वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशीका रूपमा लिइएको उनले बताए ।

आषाढ शुक्ल एकादशीका दिनदेखि शुरु भएको चर्तुमास व्रत आजबाट समाप्त हुन्छ । चतुर्मास व्रत बस्नेले आज फूलको लठ्ठासहितको डोली बोकेर नदी किनारमा पुगी फूल तार्ने गर्दछन्।

आजको दिन नदी तथा जलाशयमा पुगी गरिने स्नान, दान र तपस्यालाई महत्वका साथ लिने गरिन्छ । आजैका दिन बहुउपयोगी वनस्पति तुलसीको विवाह गर्ने प्रचलन छ।

रामघाट, लागादी लगायतका स्थानमा आज एकादशी मेला लाग्ने भएकाले ती स्थानमा सुन्तला, बदाम, सक्खरखण्डका साथै चोयाका समान बिक्री हुने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.