प्रधानमन्त्री र सभापति लामिछानेले संसदको नियम उल्लंघन गरेको भन्दै एमालेको आपत्ति

डिसी नेपाल
३० असार २०८३ १४:१९

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसद् बैठकको मर्यादा उल्लंघन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ।

एमाले सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लंघन गरेको आरोप लगाए।

उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था रहेको उल्लेख गरे।

सांसद महरका अनुसार बैठकमा राप्रपाकी सांसद खुश्बु ओलीले आफ्नो भनाइ राखिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसनअगाडिको भाग हुँदै हिँडेका थिए।

‘माननीय खुश्बु ओली बोलिरहनुभएको अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यूले नियमको उल्लंघन गरेर हिँड्नुभएको छ । यस विषयमा नियमापत्ति गर्दै सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु र यसबारे रुलिङको माग गर्दछु,’महरले भने।

उनले संसद्को मर्यादा र नियम सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सभामुखबाट आवश्यक निर्देशन आउनुपर्ने माग गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *