पार्टीमा बाबुराम भट्टराई हाबी हुँदा दबावमा उपेन्द्र यादव
फाइल फाेटाे।
काठमाडौं। क्षेत्रीय दलबाट राष्ट्रिय दल बन्न तत्कालीन संघीय समाजवादी फोरम नेपालले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता गर्यो। त्यसअघि फोरमले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेको थियो।
अशोक राई र बाबुराम भट्टराईसँगको एकतापछि तत्कालीन फोरम समाजवादी पार्टी बन्यो भने त्यसका नेता उपेन्द्र यादव क्षेत्रीय नेताबाट राष्ट्रिय नेता बन्न सफल भए। मधेस आन्दोलनको रापबाट उदाएका नेता यादव अब अर्को क्षेत्रीय दल राजपासँग पार्टी एकता गर्न चाहन्छन्। योबीचमा राजपा र समाजवादी पार्टीबीच पार्टी एकतका विषयमा केही चरणमा अनौपचारिक बैठकसमेत भएका छन्।
ठूलो पार्टी बन्ने लालसामा नयाँ शक्तिसँग एकता गरेका यादवमाथि पछिल्लो समय बाबुरा भट्टराई हाबी हुन थालेका छन्। समाजवादी पार्टी अहिले सरकारमा सहभागी छ। उपेन्द्र यादव वर्तमान सरकारको तेस्रो नम्बर बरियातामा छन्। तर बाबुराम भट्टराई तत्काल सरकारबाट बाहिरिनुपर्ने पक्षमा छन्।
ठूलो पार्टी बन्ने लालसामा नयाँ शक्तिसँग एकता गरेका यादवमाथि पछिल्लो समय बाबुरा भट्टराई हाबी हुन थालेका छन्।
बिहीबारदेखि सुरु भएको समाजवादी पार्टीको संघीय परिषद बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार छोड्नुपर्ने अडान राखेका छन्। तर, पार्टीका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव भने कुनैपनि हालतमा सरकारबाट बाहिरिने पक्षमा छैनन्।
यद्यपी बिहीबारदेखि सुरु भएको समाजवादी पार्टीको संघीय परिषद बैठकमा भट्टराई मध्यममार्गी प्रस्ताव पेश गरेपछि तत्काल सरकारबाट हट्ने संभावना भने टेरेको छ। भट्टराईले पेश गरेको राजनीतिक प्रस्तावमा सरकार र सरकारसंवद्ध पार्टीसँग वार्ता गरेर संविधान संशोधनका लागि पहल गर्ने र नभए सरकार छोड्ने विषयमा कार्यकारिणी समितिले निर्णय लिनुपर्ने प्रस्ताव गरेपछि समाजवादी पार्टी सरकारबाट बाहिरने संभावना तत्काललाई टरेको हो।
तर भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारको चर्को आलोचना गरिएको छ। उनले सरकारमा पार्टीको सहभागिताबारे गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गरेका छन्।
उपेन्द्र यादव तत्काल सरकार छोड्ने भन्दा पनि सरकारमै बसेर आफ्ना माग पूरा गराउन दबाव दिनुपर्ने पक्षमा छन्। तर भट्टराई जति लामासमय सम्म सरकारमा बस्यो त्यति नै पार्टीलाई बढी क्षति हुने बताउँदै आएका छन्।
संविधान संशोधन गर्ने मूल एजेण्डासहित सरकारमा गएको पार्टी उद्देश्यविपरित अन्यत्र अलमलिएको पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरुको गुनासो छ। यादवले मधेशी जनताको भावनामाथि खेलबाड गरेको समाजवादी पार्टीकै कार्यकर्ताहरुको आरोप छ।
सरकारमा सहभागी भएर पनि मधेश आन्दोलनका घाइते तथा अपांगहरुलाई सरकारको तर्फबाट गर्नुपर्ने सहयोग समेत नगरेको यादवमाथि आरोप लाग्दै आएको छ। त्यसो त प्रधानमन्त्री केपी ओली पनि पछिल्लो समय उपेन्द्र यादवको कार्यशैलीप्रति सन्तुष्ट छैनन्। सरकारमा सहभागी भएर सरकारकै आलोचना गरेको, अपेक्षाकृत काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली यादवप्रति असन्तुष्ट छन्।
प्रधानमन्त्रीले कात्तिक लगत्तै मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेका छन्। सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लागिरहेका बेला प्रधानमन्त्रीले योग्य र सक्षमलाई अवसर दिने गरी मन्त्रिपरिषद हेरफेर गर्न लागेका बेला उपेन्द्र यादवमाथि सरकार छाड्न वा राम्रोसँग काम गर्नुपर्ने दबाव छ। पार्टी भित्र र सरकारबाट समेत दबावमा परेका यादव भने तत्काल सरकार छाड्ने पक्षमा नरहेको यादव निकट एक नेताले जनाए।







डिसी नेपाल








Facebook Comment