बाढीले मौरीघार बगाउँदा चितवनको रत्ननगरमा ६० लाखको क्षति, किसान चिन्तित

डिसी नेपाल
३१ असार २०८३ ६:२६

नारायणगढ (चितवन)। सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा व्यावसायिक मौरीपालन गर्दै आएका किसानहरूले ठूलो क्षति व्यहोर्नुपरेको छ।

रत्ननगर नगरपालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका सयौँ मौरीघार बाढीले बगाउँदा तथा मौरीगोला नष्ट हुँदा प्रारम्भिक रूपमा करिब ६० लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।

रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार वडा नं ११ अन्तर्गत पञ्चकन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र वडा नं ९ को लालपर्सामा राखिएका मौरीघारहरू बाढीको चपेटामा परेका हुन्। अधिकांश घारहरूबाट मह निकाल्ने अन्तिम तयारी भइरहेका बेला बाढी पसेकाले किसानहरूले थप ठूलो आर्थिक चोट व्यहोर्नुपरेको छ।

मनिखोला क्षेत्रमा मात्रै तीन जना किसानका गरी कुल ४१५ घार प्रभावित भएका छन्। जसमा रत्ननगर–१२ का शंकर भट्टका २५० घार, रत्ननगर-४ का रोशन विकका ७० घार र भरतपुर-१४ का दिनेश ढकालका ९५ घार रहेका छन्। यस क्षेत्रमा बाढी कम भएपछि केही घारहरू सुरक्षित फेला पर्ने आश गरिए पनि अधिकांश मौरीगोला भने पूर्ण रूपमा नष्ट भइसकेको प्रमुख लामाले जानकारी दिए।

त्यस्तै, लालपर्सा क्षेत्रमा खैरहनीका लोकप्रसाद पराजुलीका ९० घार, रत्ननगर-४ का दीपक थापाका ९० घार र रत्ननगर-३ का एकबहादुर गुरुङका ९० घार गरी कुल २७० घार प्रभावित भएका छन्।

यस क्षेत्रमा राखिएकामध्ये करिब २५० घार बाढीले पूर्ण रूपमा बगाएको छ भने निकै कम घार मात्र फेला पारी सुरक्षित स्थानमा सारिएको छ। अहिले पनि खोलामा पानीको बहाव उच्च रहेका कारण सबै प्रभावित क्षेत्रमा पुगेर क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको बुझिएको छ।

कृषि शाखा प्रमुख लामाका अनुसार एउटा तयारी मौरीघारको औसत मूल्य करिब १० हजार रुपैयाँ पर्छ।

यसपटक अधिकांश घारहरूमा प्रतिघार चारदेखि पाँच किलोग्रामसम्म मह उत्पादन हुने अवस्था थियो। घारसँगै मौरीगोला र संकलन गर्नै लागिएको मह समेत बाढीले सोहोरेर लगेपछि किसानहरू ठूलो मारमा परेका छन्। यतिबेला नगरपालिकाले प्रभावित क्षेत्रको स्थलगत अनुगमन तीव्र पार्दै क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *