पछिल्लो २४ घण्टामा चितवनको नारायणी आसपासमा सबैभन्दा बढी वर्षा, भरतपुर क्षेत्र डुबानमा

डिसी नेपाल
३० असार २०८३ ११:१५

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मुलुककै सबैभन्दा बढी वर्षा चितवनको नारायणी आसपासको क्षेत्रमा मापन गरिएको छ।

सोमबार बिहानदेखि आज बिहानसम्म देशभरका ३३५ वटा वर्षा मापन केन्द्रहरूमा गरिएको अध्ययनअनुसार २४३ वटा केन्द्रमा वर्षा भएको छ, जसमध्ये ४५ वटा मानव सञ्चालित र २९० वटा स्वचालित केन्द्र रहेका छन्।

विवरणअनुसार सबैभन्दा बढी ३१९.८ मिलिमिटर वर्षा चितवन जिल्लाको नारायणी फिल्ड अफिस केन्द्रमा मापन गरिएको छ।

उक्त केन्द्र आसपासका अन्य तीन वटा केन्द्रहरूमा पनि २०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ भने देशभरका २३ वटा केन्द्रहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ। अत्यधिक वर्षाका कारण अहिले चितवनको भरतपुर आसपासका क्षेत्रहरू डुबानमा परेका छन्।

यसैबीच, विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले सोमबार रातिदेखि मनसुनी न्यूनचापीय रेखा मध्य तथा पूर्वी तराईतर्फ सर्दै गरेको जानकारी दिएका छन्।

काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा भइरहेको लगातारको झरी सोमबार रातिदेखि रोकिएको र आजको मौसम सोमबारको तुलनामा केही घमाइलो र तातो हुने उनको भनाइ छ। उपाध्यायका अनुसार अत्यधिक वर्षाका कारण सप्तकोशी तथा नारायणी नदी वरिपरिका क्षेत्रमा डुबानको जोखिम आज मध्याह्नसम्म उच्च रहने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *