अविरल वर्षाले नवलपुरमा विपद्: कालीगण्डकी करिडोरसहित सडक अवरुद्ध, ३५ जना विस्थापित
मध्यविन्दु (नवलपरासी)। लगातारको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बाढी, पहिरो र डुबानका घटना तीव्र रूपमा बढेका छन्। जिल्लाका विभिन्न स्थानमा सडक सञ्जाल अवरुद्ध हुनुका साथै नौ घरमा बाढीको पानी पस्दा कम्तीमा ३५ जना विस्थापित भएका छन्।
बस्तीमा बाढी पसेपछि सुरक्षित स्थानमा स्थानान्तरण
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार गैँडाकोट नगरपालिका–४ स्थित डनचोक क्षेत्रमा जङ्गलबाट आएको बाढी र नालीको पानी बस्तीमा पस्दा नौ वटा घरमा क्षति पुगेको छ।
डुबानका कारण बस्न अयोग्य भएपछि आठ परिवारका ३५ जना स्थानीयवासी विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी छिमेकी तथा आफन्तको घरमा आश्रय दिइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार डुबानबाट हालसम्म मानवीय तथा चौपाया क्षति भएको छैन। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ।
यसैगरी, गैँडाकोट नगरपालिका-१५ मा वडाध्यक्ष प्रेमराज तिमिल्सिनाको घरको तल्लो तलामा वर्षा र नालीको पानी पस्दा करिब २० क्विन्टल धान र लत्ताकपडा भिजेर नष्ट भएको छ।
सोही क्षेत्रका स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी पसेर क्षति पुर्याएको छ। घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको टोलीले स्थानीयसँग समन्वय गरी उद्धार र सुरक्षित व्यवस्थापनमा सहयोग गरिरहेको छ।
कालीगण्डकी करिडोर र ग्रामीण सडकहरू ठप्प
वर्षासँगै आएको पहिरोले जिल्लाका मुख्य तथा सहायक सडकहरू अवरुद्ध पारेको छ। गैँडाकोट नगरपालिका-३ चिसापानी नजिकै कालीगण्डकी करिडोर सडकखण्डमा सोमबार राति पहिरो खस्नुका साथै साल र सिसौका रुखहरू ढलेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटको टोलीले पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिरहेको छ।
त्यस्तै, हुप्सेकोट गाउँपालिका-४ र ५ को सिमानामा रहेको रातेखोलामा पानीको बहाव उच्च भएपछि रुम्झाटार जाने भित्री सडक अवरुद्ध भएको छ।
हुप्सेकोट गाउँपालिका-६ बाडाखोलामा पहिरो खस्दा झ्यालवासदेखि वडा नं ६ को कार्यालय जोड्ने ग्रामीण सडकसमेत ठप्प बनेको छ। यी दुवै स्थानमा स्थानीय तह र प्रहरीको समन्वयमा अवरोध हटाउने प्रयास भइरहेको छ।
प्रहरी उपरीक्षक खड्काका अनुसार अविरल वर्षा जारी रहेकाले जिल्लाका नदी तटीय क्षेत्र, पहाडी सडक तथा जोखिमयुक्त बस्तीहरूमा प्रहरीको निगरानी र सतर्कता बढाइएको छ। उनले आम नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल समेत गरेका छन्।






डिसी नेपाल





Facebook Comment