उपनिर्वाचनमा खटिनेका लागि बीमा

डिसी नेपाल
७ मंसिर २०७६ १५:००

काठमाडौं। प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५ सय ५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ। उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं मतगणना कर्मचारीको व्यक्तिगत दुर्घटना बीमा गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगका अनुसार उपनिर्वाचनमा संलग्नको बीस लाख रुपैयाँको बीमा गरिएको छ। उपनिर्वाचनमा मतदान केन्द्रमा दुई हजार ६ सय ८४ कर्मचारी तथा दुई हजार १ सय ३४ जना स्वयम्सेवक खटिनेछन्। कास्की, दाङ, बाग्लुङ, सुनसरी र भक्तपुर मतगणना गर्ने कर्मचारीको सङ्ख्या ८० रहेको छ भने अन्य जिल्लाका लागि ३ सय ४४ र मतदाता शिक्षा कार्यकर्ता ३ सय १० जना परिचालन गरिएको छ।

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ। स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

यसैबीच उपनिर्वाचनमा चारवटा राष्ट्रिय पर्यवेक्षक संस्थाले निर्वाचन पर्यवेक्षणका अनुमति पाएका छन्। अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग), नेपाल आवाज, दीपेन्द्र कँडेल इनिसिएटिभ र राष्ट्र निर्माण मञ्च नेपाल रहेको निर्वाचन आयोगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *