नेपालमा उत्पादित चिनी महँगो हुनुको जवाफ उद्योगीहरुले दिनुपर्छः उद्योगमन्त्री भट्ट

डिसी नेपाल
१५ मंसिर २०७६ १८:०६

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले भारतबाट आयातित चिनीको मूल्य भन्दा नेपालमा उत्पादित चिनी महँगो हुनुको कारणको जवाफ उद्योगीहरुले दिनुपर्ने बताएका छन्।

उनले उद्योगीहरुले चिनी उत्पादन महँगो बनाउने र किसानलाई उँखुको मूल्य नदिने प्रवृतिको अन्त्य गर्न आफुले काम गर्ने बताए । आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग कुरा गर्दै मन्त्री भट्टले नेपालका किसानले पाउने उखुको मूल्य भन्दा बढी भारतका किसानले पाउने भएपनि भारतमा उत्पादित चिनी सस्तो भएको बताए ।

उनले त्यही चिनी ३० प्रतिशत भन्सार बुझाएर ल्याउँदा समेत नेपालको भन्दा सस्तो पर्ने र नेपालमै उत्पादित चिनी सो भन्दा महँगो हुनुको कारणको जवाफ उद्योगीहरुले दिनुपर्ने बताए । उद्योगीहरु इमान्दार नबन्दा विद्युत महसुल उठन नसकेको, उत्पादन बढ्न नसकेको तथा उखु किसानहरुले समयमा भुक्तानी नपाएको जस्ता समस्या आएको उनले बताए।

उनले उद्योगीहरुले आफ्ना समस्या पहिचान नगरी सरकारलाई काम गरेन भन्नु गलत भएको समेत बताए । सरकारलाई आरोप लगाउनुभन्दा समस्या र त्यसको समाधान के हो दुवै लिएर मन्त्रालयमा आउन समेत उद्योगीहरुलाई मन्त्री भट्टले आग्रह गरे । उनले उद्योगीहरुलाई उत्पादन सस्तो बनाउन तथा निर्यातजन्य वस्तुको उत्पादन बढाउन पनि आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *