घट्दै रोपाइँको क्षेत्रफल

डिसी नेपाल
१५ असार २०८३ २२:४६

गण्डकी। गण्डकी प्रदेशमा धान रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै गएको पाइएको छ। चार वर्षअघि ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो। त्यसपछिको वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटियो।

गत आवमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ भएकामा यसवर्ष जम्मा ९३ हजार ६०६ हेक्टरमा रोपाइँ हुने अनुमान प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरेको छ।

जग्गा खण्डीकरण, बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल घट्दै गएको मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ शशी अधिकारीले बताए। उनका अनुसार गण्डकीमा हालसम्म हालसम्म दसमलब २४.९० प्रतिशत रोपाइँ सकिएको छ। गतवर्ष यही अवधिमा २८.२० प्रतिशत रोपाइँ भएको थियो। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ।

क्षेत्रफल घटे पनि समयमै वर्षात् र रासायनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बीउविजन आदि कारणले धानको उत्पादकत्व भने वृद्धि हुने गरेको छ। प्रतिकूल मौसम, मल अभाव, कमसल बीउविजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने कृषि अर्थ विज्ञ अधिकारीले बताए।

प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको छ। नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ।

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन्।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ। गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *