उपनिर्वाचनको परिणामले नेकपा र काँग्रेस दुबै खुशी

डिसी नेपाल
१६ मंसिर २०७६ १६:१९

काठमाडौं। गएको शनिबार विभिन्न ५२ स्थानका लागि भएको उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम मंगलबार आइसकेपछि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दुबै दल खुशी देखिएका छन्।

दुबै दल खुशी हुनुका कारण पनि महत्वपूर्ण छन्। किनकी दुबै दलले यी ५२ स्थान मध्ये धेरैसजो आफ्नो पोल्टामा पारेका छन्।

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन एमाले, माओवादी र काँग्रेस एक्लाएक्लै चुनाव लडेका थिए। तर, २ वर्षपछि भएको उपनिर्वाचनमा भने दलहरुको समीकरण परिवर्तन भएको छ। तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण भएर नेकपा जन्मिएको छ, त्यतिबेलाको सत्तारुढ दल काँग्रेस यतिबेला प्रमुख प्रतिपक्षीको हैसियतमा छ।

त्यसैले यो चुनाव दुबै दलका लागि आ आफ्नो अवस्था परीक्षणको मौका थियो। ५२ स्थान मध्ये ४३ वडा अध्यक्ष, ३ प्रदेशसभा सदस्य, एक मेयर, एक प्रतिनिधिसभा सदस्य, दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्षका लागि निर्वाचन भएको थियो।

४३ वडा मध्ये काँग्रेसले जितेका १२ थिए भने यसपाली काँग्रेसले ११ वडा अध्यक्ष जितेको छ। उसले एक वडा गुमाएको छ। त्यो वडा यो पटक नेकपाको पक्षमा गएको छ। यद्यपी दुबै दलले एकअर्काका वडा अध्यक्षहरु खोसाखोस पनि गरेका छन्।

यस्तै ३ गाउँपालिका अध्यक्ष मध्ये २ काँग्रेस र एक राजपाको थियो। तर, यो पटक तीनै अध्यक्ष नेकपाले जितेको छ। जसले नेकपालाई खुशी दिने काम गरेको छ।
यस्तै ३ प्रदेशसभा मध्ये २ नेकपा र १ जनमोर्चाले जितेका थिए। यो पटक नेकपाले एक प्रदेशसभा गुमायो। जनमोर्चाले आफ्नो प्रदेशसभा सदस्य जोगायो। काँग्रेसले भक्तपुरमा नेकपाका उम्मेदवारलाई पराजित गर्दै एक प्रदेशसभा सदस्य बढायो। जसले काँग्रेसलाई खुशी हुने मौका दियो।

यो उपनिर्वाचनमा सबैभन्दा आकर्षण कास्की २ प्रतिनिधिसभा र सुनसरीको धरान उपमहानगरपालिकाको मेयरको चुनाव थियो। यी दुई स्थान नेकपा र काँग्रेसले बाँडेर लिएका छन्। जसले गर्दा दुबै दललाई खुशी हुने वातावरण बन्यो।

उपनिर्वाचनको अन्तिम मतपरिणाम आइसकेपछि नेकपा प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थानीय, प्रदेश र संघीय संसदका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपाले ३१ (५९.८) प्रतिशत स्थानमा विजय हासिल गरेको छ। एकताअघि दुई पार्टीले २८ स्थान (५३.८) प्रतिशत जितेका थिए। अहिले ३ सीट (५.८) प्रतिशत बढी हासिल भयो। यसबाट सरकार र पार्टीको अनुचित आलोचना जनताले अश्वीकार गरेको स्पष्ट भएको छ।’

उता सुनसरीको धरानमा जित, भक्तपुर प्रदेशसभामा जित र चितवनका तीनवटै वडामा जितले काँग्रेसले यो चुनावमा आफ्नो जित भएको दावी गरेको छ। सुनसरीकी स्थानीय तरुण दलकी नेत्रृ लक्ष्मि खतिवडाले सुनसरीको विजयी जुलुसको तस्वीरसहित लेखिन्, ‘यो खुशी हेर्न २८ वर्ष कुनु पर्यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *